काठमाडौं । भारतमा तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आज छैटौं चरणको मतदान हुँदैछ । आज ७ राज्य र एक केन्द्र शासित प्रदेश गरी लोकसभाका ५८ सिटका लागि मतदान हुँदैछ । भारतीय निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।
५८ सिटका लागि ८ सय ८९ उम्मेदवार मैदानमा छन् । आज बिहारका आठ, हरयाणका १०, जम्मु कश्मिरका एक, झारखण्डका चार, दिल्लीका सात, ओडिसाका ६, उत्तर प्रदेशका १४ र पश्चिम बंगालका आठ सिटका लागि मतदान हुनेछ । आजको मतदानले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बांसुरी स्वराज, हरियाणका पूर्व मुख्यमन्त्री मनोहर लाल खट्टर, जम्मु कश्मिरकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, कांग्रेस नेता कन्हैया कुमार, पूर्व केन्द्रीय मन्त्री मेनका गान्धी, केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान, केन्द्रीय मन्त्री राव इन्द्रजीत सिंह, भाजपा नेता साम्बित पात्रा, अभिनेता राज बब्बर, भोजपुरी अभिनेता मनोज तिवारीलगायतको भाग्यको फैसला गर्नेछ ।
छैटौं चरणमा दिल्लीका सात लोकसभा सिटमा पनि मतदान हुँदैछ । सन् २०१९ मा दिल्लीमा कंग्रेस र आम आदमी पार्टी अलग–अगल लडे पनि यसपटक भने दुवै पार्टी मिलेर चुनाव लड्दै छन् । सम्पूर्णको नजर दिल्लीको मतदानमा हुने जनाइएको छ । अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो भने त्यसपछि क्रमशः अप्रिल २६, मे ७, मे १३, मे २० गरी दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणको मतदान सम्पन्न भैसकेको छ ।
भारतमा लोकसभाका ५ सय ४३ सदस्यको चयनका लागि छैटौं चरणको मतदान हुँदैछ । सातौं चरणको मतदान भने जुन १ मा हुनेछ भने ४ जुनमा सातवटै चरणको मतपरिणाम सार्वजनिक हुनेछ ।