बंगलादेशका सासंद भारतको कोलकातामा मृत भेटिए

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशका सासंद भारतको कोलकातामा मृत भेटिए

काठमाडौं । बंगलादेशको सत्तारुढ दलका सासंद बेपत्ता भएको एक सातापछि बुधबार भारतको कोलकातामा हत्या गरिएको अवस्थामा फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाताको एउटा फ्ल्याटमा अवामी लिगका सांसद अनवरुल अजिम अनारको हत्या योजनाबद्ध तरिकाले भएको बताएका छन् ।

सीमावर्ती जिल्ला झेनाइदहको एउटा निर्वाचन क्षेत्रमा अवामी लिग पार्टीबाट लगातार तीन कार्यकाल जितेका ५६ वर्षीय अन्वारुल अजिम अनार १२ मेमा उपचारका लागि भारत गएको एक दिनपछि बेपत्ता भएका थिए । बेपत्ता भएपछि १८ मेमा कोलकाता प्रहरीसमक्ष उजुरी दर्ता गरिएको थियो । अहिले बंगलादेश प्रहरी र कोलकाता प्रहरीले संयुक्त रुपमा अनुसन्धान सुरु गरेको छ ।

वरिष्ठ प्रहरी अधिकारी अखिलेश चतुर्वेदीले अनुसन्धानको क्रममा उनी बसेको फ्ल्याटबाट भिडियो फुटेज भेटिएको र त्यहाबाट केही रगतको दाग देखिए पनि शव भने अन्य स्थानबाट प्राप्त भएको स्पष्ट पारेका छन् ।

त्यस्तै अर्का वरिष्ठ प्रहरी अधिकारीले सांसदको हत्याराहरु आतंककारी संगठनसँग सम्बन्धित हुन सक्ने अनुमान गरेका छन् । कोलकाता प्रहरीले सांसदको मृत्युको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ । बंगलादेशले हत्याको विभिन्न तहमा अनुसन्धान थालेको छ । प्रधानमन्त्री शेख हसिनाले पनि सांसदको निधनप्रति गहिरो शोक व्यक्त गरेकी छिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.