को-हुन् इब्राहिम रइसी, कसरी भए शक्तिशाली ?

जेष्ठ ८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
को-हुन् इब्राहिम रइसी, कसरी भए शक्तिशाली ?

काठमाडौं । पहिले धार्मिक विद्वान्, वकिल र त्यसपछि इरानी न्यायिक निकायको शीर्ष स्थानमा पुग्न सफल इब्राहिम रइसीलाई सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको उत्तराधिकारीका रुपमा लिइएको थियो । राजनीतिक विचारका हिसाबले उनी अति कट्टरपन्थी मानिन्थे । उनले सानै उमेरमा इरानी राजतन्त्रविरुद्ध लडेका थिए ।

सन् १९६० मा उत्तरपूर्वी इरानको पवित्र सहर मशहदमा जन्मिएका इब्राहिम कम उमेरमै उच्च ओहदामा पु्ग्न सफल भएका थिए । विद्यार्थी जीवनमै उनले पश्चिमा मुलुकको समर्थनप्राप्त मोहम्मद रेजा साहविरुद्धको प्रदर्शनमा भाग लिएका थिए । पछि यो आन्दोलनले इस्लामिक क्रान्तिको रुप लिँदै आयातोल्लाह रुहोल्ला खमेनीको नेतृत्वमा राजतन्त्र अन्त्य गर्‍यो ।

२५ वर्षकै उमेरमा उनले सरकारी वकिलका रुपमा काम गर्न थाले । सन् १९८९ र १९९४ का बीच उनी तेहरानका महाअभियोजक भए भने २००४ देखिको एक दशक न्यायिक प्राधिकरणको उपप्रमुख बन्न सफल भए । उनी १९८१ मा गुप्तचर अदालतमा सामेल थिए, जसलाई डेथ कमिटी नामले चिनिन्थ्यो । उक्त अदालतमा अधिकांश वामपन्थी तथा विपक्षी समूहका हजारौं कार्यकर्ताविरुद्ध मुद्दा चलाइएको थियो । तीमध्ये कति जनालाई मृत्युदण्ड दिइयो भन्ने कुरा अझै गोग्य छ ।

तर, मानवअधिकार समूहको दाबीअनुसार पाँच हजार पुरुष तथा महिलालाई इब्राहिमसहितको इजलासले मृत्युदण्ड दिएको थियो । फाँसीपछि तिनीहरुलाई अज्ञात सामूहिक चिहानमा समाधिस्थ गरिन्थ्यो । इब्राहिमले यसमा आफ्नो संलग्नतालाई लगातार अस्वीकार गरिरहे । तर उनले एकपटक भनेका थिए-आयातोल्लाह खमेनीको फत्वाका अनुसार त्यो सजाय उचित थियो । २०१४ मा इरानी न्यायपालिकाका प्रमुख बनेका उनी राजनीतिक विचारका हिसाबले अति कट्टरपन्थी मानिन्थे ।

राष्ट्रपतिको निधनमा इरानमा पाँच दिनको शोक घोषणा

उनले सन् २०२१ मा उदारवादी नेता हसन रुहानीलाई प्रतिस्थापन गर्दै राष्ट्रपति चुनिए । चुनावी अभियानका क्रममा उनले आफूलाई रुहानी शासनका क्रममा बढेको भ्रष्टाचार र आर्थिक संकटबाट पार लगाउन सक्ने एकमात्र विकल्पका रुपमा प्रस्तुत गरे । तर, उनले सत्ता हातमा लिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका कारण धेरै चुनौतीको सामना गर्नुपर्‍यो । आणविक कार्यक्रमका कारण अमेरिकाले लगाएको प्रतिबन्धका कारण गम्भीर आर्थिक संकटको सामना गर्नुपर्‍यो ।

हिजाबविरुद्ध आन्दोलन देशव्यापी रुपमा चर्कियो भने हमासको आक्रमणपछि इजरायलको पछिल्लो कडा सैन्य प्रतिक्रियाले इरानका लागि नयाँ चुनौती सिर्जना गर्‍यो । इस्लामिक क्रान्तिअघि सन् १९७९ सम्म मैत्रीपूर्ण रहेको इजरायलसँगको सम्बन्ध अहिले शत्रुतामा परिणत भएको छ। गत अप्रिलमा सिरियाको दमास्कसस्थित आफ्नो वाणिज्य कार्यालयमा इजरायलले आक्रमण गरेपछि इरानले जवाफी कारवाहीस्वरुप इजरायलविरुद्ध आक्रमण गर्‍यो ।

इजरायलले गाजामाथि आक्रमण गरेपछि इरानले खुला रुपमै हमासलाई समर्थन गर्‍यो, जुन इजरायललाई असह्य भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इब्राहिमको मृत्युमा इजरायली गुप्तचर निकाय मोसादको संलग्नता रहेको अड्कल पनि काटिरहेका छन् । अनुसन्धानले उक्त विषयको पुष्टि गर्नेछ । तर, अहिले इरान नेतृत्व र शक्तिविहीन भएको चर्चा चल्न थालेको छ ।



Enter Kantipur TV HD
Advertisement