राष्ट्रपतिको निधनमा इरानमा पाँच दिनको शोक घोषणा

कार्यवाहक राष्ट्रपतिमा मोहम्मद मोखबेर नियुक्त
५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिने
जेष्ठ ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
राष्ट्रपतिको निधनमा इरानमा पाँच दिनको शोक घोषणा

काठमाडौं । राष्ट्रपति इब्राहिम रइसीको निधनमा इरानमा ५ दिनको शोक घोषणा गरिएको छ । सर्वोच्च नेता अली खमेनीले हिजो भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका रइसीको निधनमा शोक घोषणा गर्नुभएको हो ।

सर्वोच्च नेता खमेनीले प्रथम उपराष्ट्रपति मोहम्मद मोखबेरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गर्नुभएको छ । त्यस्तै अलि बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्री बनाइएको छ । इरानको संविधानले राष्ट्रपतिको मृत्यु भएको अवस्थामा प्रथम उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने र ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गराइसक्नुपर्ने व्यवस्था गरेको छ ।

देशको इस्ट अजरबैजान प्रान्तमा हिजो भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रइसी, विदेशमन्त्री अमिर अब्दोल्ला हियानसहित नौ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

रइसीको निधनमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले समवेदना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति रइसीको निधनमा शोक व्यक्त गर्नुभएको हो । यसैगरी रुस, भारत, चीन, युरोपेली संघ, जोर्डन, जापान, पाकिस्तान, कतार, इराक, प्यालेस्टिनी समूह हमास र यमनको हुथी विद्रोही समूहलगायतले समवेदना व्यक्त गरेका छन् ।

रइसीको मृत्युमा सिरिया र लेबनानले पनि तीनदिने शोकको घोषणा गरेका छन् ।



Enter Kantipur TV HD
Advertisement