आन्तरिक द्वन्द्वले थलिएको सुडानमा अनिकाल र भोकमरी

मानिसहरु माटो र बोटबिरुवाको पात खान बाध्य
मलेरिया रोग बन्यो अर्को दुस्मन
वैशाख २१, २०८१ |प्रभात सिंह
आन्तरिक द्वन्द्वले थलिएको सुडानमा अनिकाल र भोकमरी

काठमाडौं । देश आन्तरिक द्वन्द्वमा फस्यो भने के हुन्छ ? यसको कारुणिक उदाहरण बनेको छ- सुडान । सुडानमा अहिले अनिकाल र भोकमरी झनै गहिरिएको छ । कतिसम्म भने खानेकुराको चरम अभाव हुँदा यहाँका नागरिक माटो र बोटबिरुवाका पात खान बाध्य छन् । त्यति मात्र नभएर मलेरियाजस्ता संक्रामक रोगले सुडानी नागरिक थलिएका छन् ।

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत वर्ष अप्रिलबाट सुडानी सेना र अर्धसैनिक र्‍यापिड फोर्स (आरएसएफ) बीच सुरु भएको सशस्त्र युद्धको चपेटामा नागरिक परेका छन् । कतिसम्म भने सुडानमा अहिले चरम अनिकाल र भोकमरी निम्तिएको छ ।

अनिकालबाट बच्न यहाँका नागरिकले अनेक उपाय खोजेका छन् । पश्चिम डार्फरमा आरएसएफले नागरिकको जग्गा कब्जा गरेपछि त्यहाँका किसान खेती गर्न ल्याएको बीउ नै खाइरहेका छन् । खार्तुम क्षेत्रमा आरएसएफले नागरिकलाई घरभित्रै घेराबन्दी गरेको छ । नागरिक आफ्नो वरिपरिका रुखका पात टिपेर उमालेर खाइरहेका छन् । कतिपयले त माटो नै खाइरहेको जनाइएको छ ।

किसानले खेती गर्न पाएका छैनन् । युद्धका कारण खानै नपाउने स्थिति भएपछि पलायन हुनेको संख्या पनि बढ्दो छ । विस्थापित भइरहेका नागरिकमा मलेरिया र अन्य रोग फैलिएको छ ।

नागरिक अनिकालको स्थितिमा पुग्नुको खास कारण मुख्य सहायता केन्द्रद्वारा लगिएको सहायतालाई आरएसएफले लुट्नु हो । अन्तर्राष्ट्रिय सहायतालाई भोकमरी सुरु भएको क्षेत्रमा पुग्नबाट सुडानी सेनाले रोकिरहेको छ । सहायता अवरोधका विषयमा दुवै पक्षले एक अर्कालाई दोष लगाइरहेका छन् ।

विश्वव्यापी रूपमा मान्यता प्राप्त भोकमरी निरीक्षण एकीकृत खाद्य सुरक्षा वर्गीकरणका अनुसार चार करोड ९० लाख जनसंख्या भएको सुडानमा करिब एक करोड ८० लाख मानिस खाद्य असुरक्षाको जोखिममा छन् । त्यसमध्ये ५० लाख मानिसले अनिकालको सामना गर्नुपरेको छ । विस्थापितहरुको शिविरमा रोग र कुपोषणका कारण प्रत्येक दुई घण्टामा एक बच्चाको मृत्यु हुने गरेको छ ।

त्यसो त युद्ध हुनुअघिदेखि नै सुडानले व्यापक गरिबी र भोकमरीको सामना गरिरहेको थियो । त्यसको परिणामस्वरुप अहिले सुडान विश्वकै सबैभन्दा ठूलो विस्थापनको केन्द्र भएको राष्ट्रसंघले बताइसकेको छ ।

युद्धका कारण सुडानको अर्थव्यवस्था ध्वस्त भएको छ । सुडानमा शान्ति कायम गर्न र जनतालाइ भोकभरीबाट जोगाउन अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement