बाइडेन र सीबीच फोनवार्ता, ताइवानको विषयमा चर्चा

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
बाइडेन र सीबीच फोनवार्ता, ताइवानको विषयमा चर्चा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार फोनवार्ता गरेका छन् । गत नोभेम्बरमा क्यालिफोर्नियामा भएको शिखर सम्मेलनपछि दुवै समकक्षीबीच पहिलो पटक फोन संवाद भएको हो ।

बाइडेन र सीको सम्वाद ताइवान, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सुरक्षा मुद्दामा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ताइवानमाथि बेइजिङको नियन्त्रणमुखी गतिविधि भइरहेको भन्दै बाइडेनले विरोध जनाएको बताइएको छ । यसैगरी, सीले ताइवानको ‘रेड जोन’लाई पार नगर्न बाइडेनलाई चेतावनी दिएको जनाइएको छ । बाइडेनले साउथ चाइना सीमा चीनले चलाइरहेको अभियानमाथि समेत चिन्ता व्यक्त गरेका छन् ।

फोन वार्ताका क्रममा दुवै देशको सैन्य सम्बन्ध र चीनमा हुने गरेको ‘फेन्टानिल’को प्रयोगलाई रोक्न सहयोग बढाउने विषयमा छलफल भएको बताइएको छ । फेन्टानिल एउटा सिन्थेटिक पेनकिलर हो, जसलाई मानिसले लागुऔषधका रुपमा समेत प्रयोग गर्छन् ।

बिहीबार अमेरिकी अर्थमन्त्री जेनेट एलेनले गर्ने चीन भ्रमण र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अगामी साता गर्ने चीनको भ्रमण तय भइसकेको सन्दर्भमा दुवै राष्ट्रपतिबीच फोन सम्वादले नयाँ आयाम थप्ने मानिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.