ताइवान भूकम्प अपडेट : ७ जनाको मृत्यु, सात सय ११ घाइते

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
ताइवान भूकम्प अपडेट : ७ जनाको मृत्यु, सात सय ११ घाइते

काठमाडौं । ताइवानमा गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । भूकम्पमा परी सात सय ११ जना घाइते भएका छन् । भूकम्पका कारण कयौं आवासीय भवनहरू भत्केका छन् । भग्नावशेषमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । ताइवानमा २५ वर्षको इतिहासमा गएको यो सबैभन्दा ठूलो भूकम्प हो । यसअघि सन् १९९९ मा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा २ हजार ४ सयको ज्यान गएको थियो ।

आज बिहान गएको भूकम्पको केन्द्रविन्दु ताइवानको हुवालेन सहरबाट १८ किलोमिटर दक्षिणमा पर्छ । अहिलेसम्म हुवालेनमा भत्किएको भवनबाट ९ जनाको उद्धार गरिएको छ भने अन्यको पनि उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

भूकम्पपछि ताइवानका धेरै स्थानमा विद्युत र इन्टरनेटका साथै रेल सेवा पनि अवरुद्ध भएको छ । ताइवानी समय अनुसार बिहान ७ बजेर ५८ मिनेटमा गएको भूकम्पपछि कम्तिमा १०१ परकम्प गएका छन् । यी परकम्प पनि कम्तिमा ४ म्याग्निच्युडको भएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पपछि जापानको ओकिनावा र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको थियो । फिलिपिन्सले उक्त चेतावनी हटाएको छ भने जापानले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.