आमआदमी पार्टीका थप चार नेतालाई जेल हाल्ने रणनीतिमा भाजपा

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
आमआदमी पार्टीका थप चार नेतालाई जेल हाल्ने रणनीतिमा भाजपा

काठमाडौं । दिल्लीकी मन्त्री आतिशी मार्लेनाले आफूसहित आम आदमी पार्टीका चार नेतालाई दुई महिनाभित्र प्रवर्तन निर्देशनालय (ईडी) ले हिरासतमा लिने दाबी गरेकी छिन् ।

मंगलबार मन्त्री आतिशीले पत्रकार सम्मेलन मार्फत् आफूलगायत मन्त्री सौरभ भारद्वाज, सांसद् राघव चड्डा र विद्यायक दुर्गेस पाठकलाई दुई महिनाभित्रै ईडीले हिरासतमा लिने योजना बनाएको दाबी गरेकी हुन् ।

विजय नायरसँगको अन्तरक्रिया र रिपोर्टिङबारे ईडीको प्रश्नमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नयारले आफूसँग नभई आतिशी मार्लेना र सौरभ भारद्वाजलाई रिपोर्टिङ गर्ने गरेको बताएपछि, मन्त्री आतिशीको यो भनाइ आएको हो ।

भाजपा स्रोतले आफूसँग सम्पर्क गरी भाजपामा प्रवेश गरे राजनीतिक भविष्य सुनिश्चित हुने र त्यसो नगरे ईडीले दुई महिनाभित्र गिरफ्तार गर्ने भन्दै धम्क्याएको आतिशीले खुलासा पनि गरेकी छिन् ।

सत्ता पक्षले आम आदमी पार्टीका नेता सतेन्दर जैन, मनिष सिसोदिया, सञ्जय सिंह र अहिले मुख्यमन्त्री अरविन्द केजरीवाललाई जेलमा पुर्‍यायो र अब आफूसहित अन्य चार जनालाई 'तारगेट' गरिरहेको आतिशीको भनाइ थियो ।

साथै, सत्ता पक्ष भाजपाले चुनाव अगावै आम आदमी पार्टीलाई पूर्ण रुपमा ध्वस्त गर्न लागिपरेको उनले आरोप लगाइन् ।

मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भने १५ अप्रिलसम्म थुनामा राख्न आदेश पाएपछि सोमबार ईडीको हिरासतबाट तिहाड जेलमा सारिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.