मुख्यमन्त्री केजरीवालको गिरफ्तारीविरुद्ध दिल्लीमा ‘इन्डिया गठबन्धन’को विरोध

राहुल गान्धीलगायत शीर्ष नेताहरु सहभागी
चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री केजरीवालको गिरफ्तारीविरुद्ध दिल्लीमा ‘इन्डिया गठबन्धन’को विरोध

नयाँदिल्ली । भारतको विपक्षी ‘इन्डिया गठबन्धन’ ले चुनावको मुखैमा आएर विपक्षी दलका नेताहरुलाई थुन्ने र दलहरुलाई आर्थिक रुपमा कमजोर पार्नेलगायत काम बन्द गर्न माग गरेको छ । राजधानी नयाँदिल्लीको रामलीला मैदानमा आज आमसभा गरी व‍िपक्षी दलका नेताहरुले नेताहरुले लोकतन्त्र र संविधानलाई बचाउन पनि आह्वान गरेका छन् ।

‘लोकतन्त्र बचाओ’ नाम दिइएको उक्त आमसभामा गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए । आमसभामा गठबन्धनका तर्फबाट निर्वाचन आयोगसमक्ष लोकसभा निर्वाचनमा सबै दललाई प्रतिस्पर्धाको समान अवसर सुनिश्चित गरिनुपर्नेलगायत पाँच माग राखिएका छन् ।

अन्य मागमा चुनावमा हेराफेरि गर्ने उद्देश्यले विपक्षी दलविरुद्ध सरकारका अनुसन्धान निकायले गर्ने कारबाही रोक्नुपर्ने, ईडीद्वारा गिरफ्तार गरिएका र हाल जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनलाई तत्काल रिहा गरिनुपर्ने, विपक्षी दललाई आर्थिक रुपमा अशक्त बनाउने गरी चालिएका कारबाही तुरुन्त बन्द गरिनुपर्ने तथा सत्तारुढ बीजेपीद्वारा चुनावी चन्दा उठाउन गरिएका बलपूर्वक असुली र सम्पत्ति शुद्धीकरणजस्ता आरोपको अनुसन्धानका लागि सर्वोच्च अदालतको निगरानीमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिनुपर्ने रहेका छन् ।

सभालाई कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, राहुल गान्धी, प्रियंका गान्धी, शिवसेना प्रमुख उद्धव ठाकरे, समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, आरेजडी नेता तेजस्वी यादव, वामपन्थी नेता सीताराम येचुरी, मेहबुबा मुफ्ती, एनसीपीका नेता शरद पवारलगायत नेताले सम्बोधन गरेका थिए । आमसभालाई हाल हिरासतमा रहेका दुई नेताहरु केजरीवाल तथा सोरेनका पत्नीहरु क्रमश: सुनीता केजरीवाल र कल्पना सोरेनले समेत सम्बोधन गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.