भोकमरीग्रस्त गाजामा अमेरिकाले खसाल्यो खानाका ४० हजार प्याकेट

भागदौडले मानवीय क्षति निम्तने भन्दै हमासको विरोध
आपूर्ति सहज बनाउन इजरायलमाथि दबाब
चैत्र १७, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
भोकमरीग्रस्त गाजामा अमेरिकाले खसाल्यो खानाका ४० हजार प्याकेट

काठमाडौं । अमेरिकी सुरक्षा बलले गाजामा तयारी खानाका ४० हजार प्याकेट खसालेको छ । अमेरिकाले सी-सेभेन्टिन जहाजमार्फत खाद्य सामग्री खसालेको हो ।

यो अमेरिकी सहायताले भोकमरीको स्थितिमा रहेका गाजाका नागरिकलाई केही राहत मिल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले सवारी साधनलाई सीमामा घण्टौं लाइनमा राख्ने गरेपछि अमेरिकाले विमानमार्फत खाद्य सामग्री खसालेको हो । तर, यस्तो सहायता निकै महँगो र कम प्रभावकारी हुने बताइएको छ ।

हमासले भने यसरी सहायता दिइँदा झन् मानवीय क्षति पुर्याउन सक्ने भन्दै तत्काल बन्द गर्न माग गरेको छ । अमेरिकाले हालसम्म १८ पटक विमानमार्फत खाद्य सामग्री गाजामा खसालिसकेको छ । यसअघि खाद्य सामग्री खसाल्ने क्रममा भागदौड हुँदा किचिएर ६ जनाको र समुद्रमा डुबेर १२ जनाको मृत्यु भएको थियो ।

गाजामा अमेरिकासहित फ्रान्स, जर्मनी, जोर्डन, इजिप्ट र यूएईले मानवीय सहायता उपलब्ध गराउँदै आएका छन् । गाजालाई भोकमरीबाट बचाउन निकै चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै अमेरिकी अधिकारीहरुले यो आफूहरुको मात्र नभइ बहुराष्ट्रिय कार्य रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि जमिनमार्गमार्फत सहायता सामग्री आपूर्तिका लागि दायरा विस्तार गर्न इजरायली प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

हिजो मात्र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले युद्धग्रस्त गाजामा आवश्यक पर्ने आधारभूत तथा मानवीय सेवालाई तत्काल अनुमति दिन इजरायललाई आदेश दिएको थियो ।