पत्रकारको सम्मानमा ‘वाल स्ट्रिट जर्नल’ को पहिलो पृष्ठ खाली

चैत्र १७, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
पत्रकारको सम्मानमा ‘वाल स्ट्रिट जर्नल’ को पहिलो पृष्ठ खाली

काठमाडौं । अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ ले रुसी हिरासतमा रहेका आफ्ना पत्रकार इभान गेर्शकोभिचको सम्मानमा शुक्रबार पत्रिकाको पहिलो पृष्ठ खाली राखेको छ । पत्रकार इभान एक वर्षदेखि रुसी कारागारमा छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशमा रहेका रुसी कैदीको बदलामा गेर्शकोभिचलाई रिहा गर्न सकिने बताए पनि अहिलेसम्म यस विषयमा कुनै सम्झौता हुन सकेको छैन ।

यही विषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको मूल्य रुसले चुकाउनुपर्ने बताएका छन् । तर, रुसी अदालतले पत्रकार इमानलाई ३० जुनसम्म हिरासतमा राख्न आदेश जारी गरेको छ ।

३२ वर्षीय अमेरिकी पत्रकार इभान रिपोर्टिङका क्रममा सन् २०२३ मा मस्को गएका थिए । सोही क्रममा मस्को प्रहरीले उनलाई जासुसी गरेको भन्दै हिरासतमा लिएको थियो । सन् १९८६ पछि रुसले पहिलोपटक जासुसी गरेको आरोपमा अमेरिकी पत्रकारलाई नियन्त्रणमा लिएको हो ।