इजरायललाई आईसीजेको आदेश- गाजामा मानवीय सहायताका लागि अनुमति दिनू

राष्ट्रसंघले भन्यो- एक साताभित्रै अनिकालको स्थिति आउनसक्छ
गाजामा २२ लाख मानिस भोकमरीको जोखिममा
चैत्र १६, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
इजरायललाई आईसीजेको आदेश- गाजामा मानवीय सहायताका लागि अनुमति दिनू

काठमाडौं । अन्तर्राष्ट्रिय न्यायलय (आईसीजे) ले युद्धग्रस्त गाजामा आवश्यक पर्ने आधारभूत तथा मानवीय सेवालाई तत्काल अनुमति दिन इजरायललाई आदेश दिएको छ । गाजामा भोकमरीको स्थिति सिर्जना भएपछि अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले राष्ट्रसंघसँगको समन्वयमा तत्काल आवश्यक आधारभूत सेवा र मानवीय सहायताको निर्वाध आपूर्ति सुनिश्चित गर्न इजरायललाई भनेको छ । गाजामा हाल खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय र कपडाका साथै चिकित्सा सामग्रीहरु आवश्यक भएको जनाइएको छ ।

तर, इजरायलले भने मानवीय सहायता अवरुद्ध गरेको विषयलाई निराधार भन्दै आएको छ । दक्षिण अफ्रिकाले आईसीजेमा दायर गरेको नरसंहारको आरोपलाई समेत इजरायलले अस्वीकार गरेको छ । बरु- उल्टै सहायता वितरणमा राष्ट्रसंघलाई दोष लगाएको छ ।

गत साता विश्व खाद्य कार्यक्रमको रिपोर्टले गाजामा २२ लाख मानिसले उच्चस्तरको खाद्य असुरक्षाको सामना गरिरहेको र आउँदो मेको अन्त्यअघि नै उत्तरी क्षेत्रमा अनिकाल पर्ने अनुमान गरेको थियो । राष्ट्रसंघीय पर्यवेक्षकहरूका अनुसार कुपोषण र निर्जलीकरणका कारण २७ बालबालिकासहित ३१ जनाको यसअघि नै मृत्यु भइसकेको छ ।

गत साता मानवअधिकारका लागि राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले इजरायली अवरोधका कारण गाजामा भोकमरी र अनिकालको स्थिति उत्पन्न भएको बताएका थिए ।



Enter Kantipur TV HD
Advertisement