पाकिस्तानमा नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

निर्वाचनमा धाँधली भएको भन्दै पीटीआई समर्थित स्वतन्त्र सांसदको विरोध
फाल्गुन १७, २०८०
पाकिस्तानमा नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

इस्लामाबाद । पाकिस्तानमा फेब्रुअरी ८ मा सम्पन्न आमनिर्वाचनबाट चुनिएका नवनिर्वाचित सांसदले होहल्ला र विरोधकाबीच आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पाकिस्तानी संसद्को तल्लो सदन नेसनल एसेम्बलीको आज बसेको पहिलो बैठकमा सभामुख राजा परवेजले नवनिर्वाचित सांसदलाई शपथ गराएका हुन् । हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई समर्थित स्वतन्त्र सांसदको विरोध प्रदर्शनका बीच शपथ गराइएको हो ।

सांसद पदको शपथ लिनेमा पाकिस्तान मुस्लिम लिग नवाज-पीएमएलएनका अध्यक्ष सहबाज सरिफ, पीएमएलएनका नेता तथा पूर्वप्रधानमन्त्री नवाज सरिफ, पूर्वराष्ट्रपति आसिफ जर्दारी, पाकिस्तान पिपुल्स पार्टी पीपीपीका अध्यक्ष बिलावल भुट्टो जर्दारी, ‘जमियात उलेमा-ए-इस्लाम-एफ’ पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानलगायत शीर्ष नेतासमेत छन् । ६ वर्षभन्दा बढीको अन्तरालपछि पूर्वप्रधानमन्त्री नवाज सरिफको संसद्‌मा पुनरागमन भएको हो ।

पवित्र कुरानको वाचन र राष्ट्रिय गान गाएर १६औं संसद्‌को सत्र सुरु गरिएको थियो भने राष्ट्रिय गान सकिएलगत्तै पीटीआई समर्थित स्वतन्त्र सांसद निर्वाचनमा धाँधली भएको भन्दै सभामुखको डायस घेराउ गर्न पुगेका थिए । पीटीआई समर्थित सांसदहरु दक्षिणपन्थी दल ‘सुन्नी इत्तेहाद काउन्सिल-एसआईसी’ सँग आबद्ध भइसकेका छन् भने सो पार्टीले यसअघि नै संसद्‌को पहिलो बैठकमा निर्वाचनमा भएको धाँधलीको विरोध गर्ने जनाउ दिइसकेको थियो । राजनीतिक दलले मात्रै महिला र अल्पसंख्यकका लाागि आरक्षित सिट पाउने भएकाले पीटीआई समर्थित सांसदहरु एसआईसीमा आबद्ध भएका हुन् ।

सभामुखको आग्रहपछि विरोधकर्ता सांसदहरु आ-आफ्नो स्थानमा फर्किएको र त्यसपछि सबैले शपथ गरेको समाचारमा जनाइएको छ । शपथग्रहण लगत्तै एसआईसीका सांसदहरुले सभामुखसँग बोल्न समय माग गरेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले कैदी नम्बर ८०४ को नाराबाजी गरेका थिए ।

८०४ हाल रावलपिण्डीको अदिआला जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कैदी नम्बर हो । प्रतिउत्तरमा पीएमएलएनका सांसदहरुले घडी चोरको नारा लगाएका थिए । पाकिस्तानको संसद्‌ले आगामी मार्च ४ मा प्रधानमन्त्रीको निर्वाचन गर्नेछ ।