बाइडनले गाजा युद्धमा इजरायलको पक्षमा लिएको अडानको मिसिगन राज्यमा विरोध

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
बाइडनले गाजा युद्धमा इजरायलको पक्षमा लिएको अडानको मिसिगन राज्यमा विरोध

काठमाडौं । अमेरिकाको मिसिगन राज्यमा भएको राष्ट्रपतीय प्राइमरीमा चुनावमा करिब १३ दशमलव पाँच प्रतिशत डेमोक्र्याट मतदाताले राष्ट्रपति जो बाइडनको इजरायल नीतिको विरोधमा आफ्नो मत प्रकट गरेका छन् । उनीहरूले बाइडनले गाजा युद्धमा इजरायलको पक्षमा लिएको अडानको विरोध गरेका हुन् ।

अमेरिकामा यही नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचन हुँदै छ भने बाइडन दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुन प्रतिस्पर्धा गर्दैछन् । बाइडनको चुनावी प्रचार अभियानले मिसिगन राज्यले देखाएको विरोध देशका अन्य राज्यमा पनि फैलिने त होइन भनेर नजिकबाट नियाल्ने बीबीसीले उल्लेख गरेको छ । 

करिब १० लाख डेमोक्र्याट मतदाताले मिसिगन प्राइमरीमा भाग लिएको र करिब पचास प्रतिशत मत गनिसक्दा ६१ हजारभन्दा बढी मतदाताले बाइडनप्रति अप्रतिबद्ध रहेको भन्दै मतदान गरेका छन् । मिसिगन अमेरिकाकै सबैभन्दा बढी अरब-अमेरिकन र मुस्लिम मतदाता भएको राज्य हो । यसका अतिरिक्त मिसिगन एउटा महत्त्वपूर्ण स्वीङ्ग स्टेट पनि हो । 

२०२० मा भएको निर्वाचनमा राष्ट्रपति बाइडनले तीन प्रतिशतभन्दा कमको अन्तरले ट्रम्पलाई पराजित गरेका थिए जबकि २०१६ को निर्वाचनमा यो राज्यले ट्रम्पलाई जिताएको थियो । अप्रतिबद्ध मतको सङ्ख्या अपेक्षा गरिएभन्दा अत्यधिक बढी देखिए पनि बाइडनले मिसिगनको प्राइमरी भने सहजै जितेका छन् । उनले करिब ८१ प्रतिशत मत पाएको जनाइएको छ । 

बाइडनका सम्भावित रिपब्लिकन प्रत्याशी पूर्व राष्ट्रपति डनल्ड ट्रम्पले पनि फराकिलो मतान्तरले मिसिगन प्राइमरीमा जित हासिल गरेका छन् । ट्रम्पका एकमात्र प्रतिद्वन्द्वी साउथ क्यारोलिना राज्यकी पूर्व गभर्नर निकी हेली करिब ३५ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा रहेकी छिन् । ट्रम्पकालागि पनि यो चेतावनीको संकेत भएको केही अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् । 

कुनै ठूलो उलटफेर भएन भने नोभेम्बर ५ मा ७७ वर्षीय ट्रम्प र ८१ वर्षीय बाइडनले फेरि एक पटक एकअर्कासंग प्रतिस्पर्धा गर्नेछन् । यद्यपि दुवैको उमेरलाई लिएर अधिकांश अमेरिकी मतदाता चिन्तित रहेको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.