जेलभित्रै निधन भएका रुसी नेता अलेक्सी नभाल्नीको शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
जेलभित्रै निधन भएका रुसी नेता अलेक्सी नभाल्नीको शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने

काठमाडौं । जेलभित्रै निधन भएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको यही शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने भएको छ ।

मारियानो जिल्लामा अन्तिम श्रद्धाञ्जली समारोह गरेपछि "बोरिसोभ् सकोय" चिहानगृहमा उनलाई समाधिस्थ गरिनेछ । नभाल्नीकी प्रवक्ताले समाधिस्थ गर्नका लागि चिहानस्थल पाउन पनि कठिन परेको बताएकी छिन् ।

रुसको उत्तरी ध्रुवस्थित जेलमा कैद रहेका नभाल्नीको यही फेब्रुअरी १६ मा अप्रत्याशित मृत्यु भएको थियो । अस्पताल प्रशासनले बिहानको हिंडाइपछि अस्वस्थ भएका नभाल्नी अचानक अचेत भई लडेपछि उनको मृत्यु भएको जनाए पनि नभाल्नीको हत्या गरिएको आशंका गरिंदै आइएको छ ।

नभाल्नीको मृत्यु भएको ९ दिनपछि मात्रै उनको शव उनकी आमालाई हस्तान्तरण गरिएको थियो । पुटिनका कट्टर विरोधी नभाल्नीले आफ्नो भ्रष्टाचार विरोधी अभियानमार्फत् पुटीन र उनको सत्ताको विरोध गर्दै आएका थिए ।

रुसमा आगामी मार्च १५ देखि १७ सम्म राष्ट्रपतीय निर्वाचन हुँदैछ भने पुटिन पाँचौ कार्यकालका लागि प्रतिष्पर्धा गर्दैछन् । नभाल्नीका समर्थकहरुले राष्ट्रपतीय निर्वाचनको अन्तिम दिन विरोध प्रदर्शनको आहृवान गरेका छन् ।

आफनो मृत्युको १६ दिनअघि अर्थात फेब्रुअरी १ मा सामाजिक संजालमा पोष्ट गर्दै नभाल्नीले सबै जना एक साथ दिउँसो १२ बजे मतदान गर्न उपस्थित भएर राष्ट्रपति पुटिनप्रतिको आफ्नो विरोध दर्ता गराउन आह्वान गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.