युक्रेनी राष्ट्रपति र साउदी प्रधानमन्त्री बीच वार्ता

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
युक्रेनी राष्ट्रपति र साउदी प्रधानमन्त्री बीच वार्ता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग राजधानी रियादमा भेटघाट गरेका छन् ।

उनीहरुबीच रुस-युक्रेनबीच दुई वर्षदेखि जारी युद्धका लागि किएभले अघि सारेको १० बुँदे शान्ति सूत्रको सर्त तथा बन्धक र विस्थापितको फिर्तीका उपायबारे छलफल भएको जनाइएको छ ।

साउदी सरकारी समाचार निकायले राजकुमार तथा प्रधानमन्त्री बिन सलमानले युक्रेन-रुस संकट समाधानमा भएका सबै अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन गर्ने र युद्धले निम्त्याएको मानवीय असरलाई न्यून गर्ने प्रयत्नलाई जारी राख्ने वचन दिएको जनाएको छ ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स् र कतारले युक्रेन र रुसबीच बन्दी साटासाटमा मध्यस्थता गरेको र जेलेन्स्कीले बिनसँगको भेटमा फेरि पनि त्यस्तै सहयोगको अपेक्षा राखेको बताएका थिए ।

यसअघि सोमबार राजकुमार सलमानसँग रुसी तल्लो सदन स्टेट डुमाका सभामुख भ्यासेलाभ भोलोडिनले पनि भेटवार्ता गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.