सोमबारसम्म इजरायल-हमासबीच युद्धविराम हुनसक्ने अमेरिको राष्ट्रपति बाइडनको भनाइ

कतारमा जारी वार्ता सहमति नजिक पुगेको बाइडनका सुरक्षा सल्लाहकारको दाबी
फाल्गुन १५, २०८० |कान्तिपुर टीभी संवाददाता
सोमबारसम्म इजरायल-हमासबीच युद्धविराम हुनसक्ने अमेरिको राष्ट्रपति बाइडनको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी सोमबारसम्ममा इजरायल-हमासबीच युद्धविराम हुन सक्ने आशा गरेको बताएका छन् ।

इजरायल र हमासका प्रतिनिधिसमेत सहभागी कतारमा जारी वार्तामा केही प्रगति भएको खबर आइरहँदा बाइडनले यस्तो टिप्पणी गरेका हुन् ।

न्युयोर्कमा एउटा आइसक्रिम पसलमा हास्यकलाकार सेथ मायर्ससँग आइसक्रिम खाँदै गर्दा पत्रकारहरुले गाजामा सम्भावित युद्धविरामबारे राखेको जिज्ञासामा बाइडनले यस्तो बताएका हुन् । उनले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारले वार्ता सहमतिको नजिक पुगेको जानकारी गराएको बताए ।

गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि अचानक र आश्चर्यजनकरुपमा आक्रमण गरी करिब १२ सय मानिसलाई मार्नुका साथै २ सय ५३ जनालाई लगेर बन्धक बनाएको थियो ।

गत नोभेम्बरमा भएको ७ दिने अस्थायी संघर्षविरामका क्रममा हमासले एक सयभन्दा बढी बन्धक रिहा गरेको थियो भने अझै थुप्रै मानिस उसको नियन्त्रणमा छन् । नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेका छन् ।

इजरायलले सुरु गरेको बदलाको कारबाहीमा अहिलेसम्म गाजामा २९ हजार ७ सय ८२ प्यालेष्टिनी मारिएको त्यहाँको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.