को थिए अलेक्सी नभाल्नी ? पुटिन किन त्रस्त थिए उनीसँग ?

फाल्गुन १३, २०८० |हरहरि उपाध्याय
को थिए अलेक्सी नभाल्नी ? पुटिन किन त्रस्त थिए उनीसँग ?

काठमाडौं । पुटिनको रुसमा विद्रोह गर्नु भनेको मृत्युलाई निमन्त्रणा दिनु हो भन्ने कुराको उदाहरण खोज्न धेरै घोत्लिनु पर्दैन । भाडाका सैनिकको निजी कम्पनी वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको परिणामलाई नै हेरे हुन्छ । कुनै समय पुटिनका भान्छे भनेर चिनिने प्रिगोजिन रुसी सेनाविरुद्ध छोटो र असफल विद्रोहको घोषणा गरेको दुई महिनापछि अर्थात् २३ अगस्ट २०२३ मा एउटा रहस्यमय विमान दुर्घटनामा मारिए । पुटिनको विरोधमा उभिएर शंकास्पद मृत्युवरण गर्नेहरूको सूची लामो छ । 

पुटिन विरोधी पार्टी लिबरल रसियाका नेता सेर्गेइ युशेन्कोभ, चर्चित पत्रकार अन्ना पोलित्कोभ्स्क्या, अर्की चर्चित मानवअधिकारकर्मी नताल्या इस्टेमिरोभा, पूर्वरुसी गुप्तचर अलेक्जेण्डर लिटभिनेन्को, भ्रष्टाचारका ह्विसलब्लोअर कानुन व्यवसायी सेर्गेइ म्याग्नीतस्की केही यस्ता उदाहरण हुन् जसको रहस्यमय तरिकाले हत्या गरियो । 

नभाल्नी पनि राष्ट्रपति पुटिनका प्रखर विरोधी थिए । कानुन व्यवसायी, ब्लगर र भ्रष्टाचार विरोधी अभियन्ता नभाल्नीले पुटिनमाथि भ्रष्टाचारको आरोप लगाउँदै आएका थिए । उनी भ्रष्टाचार विरोधी संस्था एन्टी करप्सन फाउन्डेसन एफबीकेका संस्थापक पनि थिए । 

आफ्नो सामाजिक सञ्जालको च्यानलमार्फत नभाल्नी र उनको टीमले रुसमा भइरहेका भ्रष्टाचार र तिनमा पुटिन निकटस्थ उच्चपदस्थ मानिसको संलग्नताका तथ्यांक सार्वजनिक गर्दै आउनुका साथै भ्रष्टाचारको विरोधमा प्रदर्शनी गर्दै आएको थियो । सन् २०११ मा दिइएको एउटा रेडियो अन्तर्वार्तामा नभाल्नीले रुसको सत्तारुढ दल यूनाईटेड रसियालाई "चोर र धोखेबाजहरूको दल"को संज्ञा दिए जुन रुसी जनतामाझ एउटा चर्चित उपाधि बन्न पुग्यो ।

२०१३ मा मस्कोको मेयरका लागि भएको निर्वाचनमा उम्मेदवारी दिएर २७ प्रतिशत मत प्राप्त गर्दै दोस्रो भएपछि रुसमा मात्रै नभएर अन्तरराष्ट्रियस्तरमै नभाल्नीको चर्चा चुलिएको थियो । उनको यही लोकप्रियताले रुसमा एकछत्र राज्य चलाइरहेका पुटिनलाई झस्कायो र नभाल्नी उनको कोप भाजनमा परे । 

लगत्तै उनी विरुद्ध आर्थिक धोखाधडीको अभियोगमा मुद्दा चलाइयो र अदालतले उनलाई निलम्बित सजाय सुनायो । २०१८ को राष्ट्रपतीय निर्वाचनमा पुटिनविरुद्ध उम्मेदवारी दिने तयारी गरेका नभाल्नीलाई निर्वाचन आयोगले चुनाव लडनमा प्रतिबन्ध लगायो ।

२०२२ को अगस्ट २० मा साइबेरियाको टोम्स्कबाट विमानमार्फत मस्को आउँदै गर्दा उनलाई नोभिचोक नर्भ एजेन्ट नामको विष दिएर ज्यान मार्ने असफल प्रयास गरियो । उनलाई त्यहाँबाट उद्धार गरेर जर्मनी लगेर उपचार गरियो र उनी बाँचे । उपचारपछि जनवरी २०२१ मा उनी रुस नै फर्किए । मस्को विमानस्थलमा अवतरण गरिए लगत्तै उनलाई गिरफ्तार गरियो ।

त्यसपछि उनलाई पहिल्यै सुनाइएको निलम्बित जेल सजायका सर्त उल्लंघन गरेको अभियोगमा साढे दुई वर्षको जेल सजाय सुनाइयो । २०२२ को मार्चमा आएर आर्थिक धोखाधडी र अदालतको अवहेलनाको एक अर्को मुद्दामा उनलाई थप नौ वर्षको जेल सजाय सुनाइयो ।

२०२३ को अगस्टमा उनलाई चरमपन्थी गतिविधि गरेको अभियोगमा थप १९ वर्षको जेल सजाय सुनाइयो । र मस्को नजिकैको जेलमा रहेका उनलाई कुख्यात अपराधीलाई राख्नमा प्रयोग हुने र पोलर उल्फका नामले चिनिने पश्चिम साइबेरियास्थित एउटा जेलमा सारियो । त्यही जेलमा शुक्रवार फेब्रुअरी १६ मा उनको मृत्यु भएको जेल प्रशासनले घोषणा गर्‍यो र यससँगै पुटिनका एक सशक्त विरोधीको दुखद अन्त्य भयो ।

व्यक्ति अलेक्सीको मृत्यु भए पनि उनका विचारको भने मृत्यु भएको छैन । नभाल्नीकी विधवा युलिया नभाल्नयाले आफ्ना दिवंगत पतिको अभियानलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छिन् । नभाल्नीका समर्थकहरूलाई हतास नहुन आग्रह गर्दै युलियाले यसै साता एउटा भिडियो सन्देश जारी गरेकी छिन् । जसमा उनले भनेकी छिन्- "म स्वतन्त्र रुसमा बाँच्न चाहन्छु, म स्वतन्त्र रुस निर्माण गर्न चाहन्छु।"

यो पनि पढ्नुहोस्...

के प्रिगोजिनलाई कारबाही गर्ने पुटिनको वाचा पूरा भएको हो ?


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।