गाजाको दक्षिणी सहर रफाहमा इजरायली सेनाको आक्रमण, ६७ प्यालेस्टिनीको मृत्यु

हमासको नियन्त्रणमा रहेका दुई बन्धक मुक्त
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
गाजाको दक्षिणी सहर रफाहमा इजरायली सेनाको आक्रमण, ६७ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका दुई बन्धकलाई इजिप्टको सीमावर्ती गाजाको दक्षिणी सहर रफाहबाट मुक्त गराएको छ ।

इजरायली सेनाले रफाहमा विशेष कारबाही गरी ७० वर्षीय लुइस हर र ६० वर्षीय सिमोन मरम्यानलाई हमासको नियन्त्रणबाट मुक्त गराएको हो । हमासको नियन्त्रणमा रहेको १२८ दिनपछि उनीहरु मुक्त भएका हुन् । दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको इजरायली सेनाले जनाएको छ । नेपाली विद्यार्थी विपिन जोशीसहित अझै करिब १३० जना हमासको नियन्त्रणमा रहेको बताइएको छ ।

बन्धक मुक्तिका लागि गरिएको कारबाहीका क्रममा व्यापक हवाई तथा समुद्री आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । इजरायली सेनाले सोमबार गरेको हवाई आक्रमणबाट एक सयभन्दा बढी मारिएको रोयटर्सले उल्लेख गरेको छ ।

उता इजरायली सेनाले रफाहमा स्थल कारबाही सुरु गर्ने योजना बनाइरहेको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा व्यापक चासो व्यक्त गरिएको छ । इजिप्टसँग सीमा जोडिएको दक्षिणी सहर रफाहमा अहिले १५ लाख प्यालेस्टिनी शरण लिइरहेका छन् ।

इजरायलले उनीहरुलाई सीमापार गरी इजिप्ट पलायन हुन बाध्य पार्न खोजेको हुनसक्ने आशंका गरिएको छ । यसमा खास गरी इजिप्टले निकै चिन्ता व्यक्त गर्दै आएको छ । यसैबीच हमासले रफाहमा इजरायली सेनाले स्थल कारबाही सुरु गरे बन्धक रिहाइसम्बन्धी वार्ता अन्त्य हुने चेतावनी दिएको छ ।

इजरायलले गत अक्टोबर ७ देखि गाजामा सुरु गरेको आक्रमणमा अहिलेसम्म २८ हजार एक सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ६७ हजारभन्दा बढी घाइते भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.