पाकिस्तानमा नवाज शरीफले थाले सरकार गठनका लागि दलहरूसँग वार्ता

अराजकता र ध्रुवीकरणको राजनीतिबाट देशलाई अगाडि बढाउन सेना प्रमुखको आग्रह
माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा नवाज शरीफले थाले सरकार गठनका लागि दलहरूसँग वार्ता

काठमाडौं । पाकिस्तानमा भएको आमनिर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि राजनीतिक दलहरूले मिलीजुली सरकार गठनका लागि प्रयास थालेका छन् ।

पूर्वप्रधानमन्त्री इमरान खानसमर्थक स्वतन्त्र उम्मेदवारहरु सबैभन्दा बढी सिटमा विजयी भए पनि उनको दल तेहेरिक-ए-इन्साफ-पीटीआई औपचारिक रूपमा निर्वाचनमा सहभागी छैन । सोहीकारण प्राविधिक रूपमा पूर्वप्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लिग-नवाज निर्वाचनमा ठूलो दल बनेको छ । लाहौरस्थित पार्टी मुख्यालयअगाडि शुक्रबार सम्बोधन गर्दै शरीफले स्वतन्त्र उम्मेदवारलाई आफ्नो दलमा सहभागी हुन आग्रह गरेका छन् । 

उनले सरकार गठनका लागि अन्य साना दलसँग वार्ता सुरु गरिसकेका छन् । सरकार गठनपछि आफूले मात्र देशलाई अप्ठेरो स्थितिबाट पार लगाउने उनको दाबी छ । पाकिस्तानको राजनीतिमा शक्तिशाली खेलाडी मानिएको सेनाले यो आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री शरीफलाई सहयोग गरेको मानिएको छ । 

शनिबार पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरले अराजकता र ध्रुवीकरणको राजनीतिबाट अगाडि बढ्न आग्रह गरेका छन् । लोकतन्त्रलाई कार्यात्मक र उद्देश्यमूलक बनाउन स्थिरता आवश्यक रहेको उनको भनाइ छ । 

उता, सामाजिक सञ्जाल एक्समा एआइको मद्दतबाट तयार पारिएको भिडियो सन्देशमा पूर्वप्रधानमन्त्री इमरान खानले तेहेरिक-ए-इन्साफ-पीटीआई अभूतपूर्व रूपमा विजयी भएको दाबी गरेका छन् । तर, खानका प्रमुख सहयोगी जुल्फिकर बुखारीले आफूहरुले कुनै पनि प्रमुख दलसँग गठबन्धन नगर्ने जनाएका छन् । 

२ सय ६६ निर्वाचन क्षेत्रमध्ये ९९ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने ७१ सिटमा पाकिस्तान मुस्लिम लिग-नवाज र ५३ सिटमा पाकिस्तान पिपल्स पार्टी-पीपीपी विजयी भएका छन् । बहुमत ल्याउन १ सय ३३ सिट जित्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले अन्तिम नतिजा भने अहिलेसम्म सार्वजनिक गरिसकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.