पाकिस्तानको चुनावमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरानको पार्टी पीटीआईलाई धेरै सिट

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानको चुनावमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरानको पार्टी पीटीआईलाई धेरै सिट

काठमाडौं । कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका अधिकांश स्वतन्त्र उम्मेद्वारले पाकिस्तानको आमनिर्वाचनमा जित हासिल गरेका छन् ।

२ सय ६६ निर्वाचन क्षेत्रको मत नतिजामा ९९ स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् भने पाकिस्तान मुसलिम लिगका ७१ सिट र पाकिस्तान पिपल्स पार्टीका ५३ जना विजयी भएका छन् ।

एआईद्वारा बनाइएको विजय भाषणमा इमरान खानले अहिलेसम्मको जित जनताको अभूतपूर्व संघर्षको नतिजा भएको बताएका छन् ।

खानको पीटीआई पार्टीका उम्मेद्वारलाई पार्टीको चिन्ह प्रयोग गर्नमा रोक लगाएपछि उनीहरुले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

पूर्वप्रधानमन्त्री नवाज सरीफको पार्टी पीएमएलएन दोश्रो भइरहँदा सरीफले गठबन्धनको सरकार बनाउन प्रयास गर्ने बताएका छन् । हिजो सरिफले चुनाव उनको पार्टीले जितेको भनी घोषणा गरेका थिए । तर, नतिजा आउँदै गर्दा सरीफले पीपीपीका बिलावल भुट्टो जरदारीसँग मिलेमतोको सरकार बनाउन पहल गर्ने बताएका छन् ।

यसैबीच, उत्तर पश्चिमी सहर शांग्लामा प्रहरीसँगको झडपमा परी पीटीआईका दुई समर्थकको ज्यान गएको छ । मत गणनामा ढिला सुस्ती भएको र मतदानमा धाँधली भएको भनी विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएका थिए र झडपमा अश्रु ग्यास प्रहार भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.