पाकिस्तानमा निर्वाचन : कसले सम्हाल्ला सत्ता ?

निर्वाचनका दौरान हिंसा, त्रास र निषेध, ९ जनाको मृत्यु
इमरान खानविनाको चुनावको निष्पक्षतामाथि प्रश्न
माघ २५, २०८० |हरहरि उपाध्याय
पाकिस्तानमा निर्वाचन : कसले सम्हाल्ला सत्ता ?

काठमाडौं । पाकिस्तानमा छिटपुट हिंसाका बीच आज भएको निर्वाचनको मतगणना जारी छ । दुई बालबालिकासहित ९ जनाको ज्यान लिने गरी भएको हिंसात्मक घटनाले उब्जाएको त्रास र मोबाइल सेवामा प्रतिबन्धका बीच चुनाव भएको हो ।

राजनीतिक दाउपेच र प्रतिशोधले चुनाव निष्पक्ष हुनेमा आशंका भइरहँदा अनुमानभन्दा सहज रुपमा सम्पन्न निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत नपाउने आकलन भइरहेको छ । खासगरी पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खानलाई जेलभित्र राखेर र उनको दलको चुनाव चिह्न खोसेर भएको निर्वाचनले कस्तो समीकरण बनाउँछ त्यो भने नतिजाले देखाउनेछ ।

पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको विडम्बना के हो भने यसअघिको अर्थात सन् २०१८ मा भएको संसदीय निर्वाचनको सबैभन्दा ठूलो दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई र यसका चामत्कारिक नेता तथा पूर्वप्रधानमन्त्री इमरान खान चुनावी मैदानमा थिएनन् । कुनै समय क्रिकेट पिचमा आफ्नो ब्याटको चमत्कार देखाएर पाकिस्तानलाई विश्वकप विजेता बनाएका पूर्वक्रिकेटर खान सत्ता प्रतिशोधको खेलसँगै जेलमा छन् ।

भ्रष्टाचारको अभियोगमा सुरुमा तीन वर्ष जेल सजाय तोकिएका उनले एकपछि अर्को मुद्दामा परेपछि थप ३१ वर्षको काराबास सजाय पाएका छन् । उनलाई चुनाव लड्नमा प्रतिबन्ध लगाइयो । यति मात्रै कहाँ हो र ? निर्वाचन आयोगले खानको दल पीटीआईलाई उसको चर्चित चुनाव चिह्न ‘क्रिकेट ब्याट’ समेत प्रयोग गर्न दिएन । निषेधको राजनीतिकै बीच पीटीआईका नेताहरु स्वतन्त्र रुपमा मैदानमा छन् ।

यो सब खेल किन खेलिँदै छ र यसको पछाडि को छ भन्ने एउटै जवाफ प्राप्त हुन्छ पाकिस्तानको शक्तिशाली सेना । स्वतन्त्रताको ७६ वर्षमध्ये आधाजसो समय सेनाले प्रत्यक्ष शासन चलाएको छ भने नागरिक सरकार पनि सेनाको सहयोगविना बन्न र टिक्न नसक्ने अवस्था छ । सेनासँग सम्बन्ध बिग्रिएपछि नै २०२२ मा खान अविश्वास प्रस्तावद्वारा पदबाट फालिएका थिए ।

कुनै समय सेनासँग सम्बन्ध बिग्रिएपछि २०१७ मा सर्वोच्चको आदेशले सत्ताबाहिर हुन पुगेका पूर्वप्रधानमन्त्री नवाज सरिफ चार वर्षको बेलायत निर्वासनपछि गत वर्ष फर्केर चुनावमा होमिएका छन् । भनिन्छ सेनासँग गोप्य सम्झौता भएपछि नै उनी स्वदेश फर्किएका हुन् । अहिले उनीविरुद्धका भ्रष्टाचारका मुद्दा पनि सबै सकिएका छन् । सत्ताबाट फालिँदै र पुन: फर्किंदै तीन पटकसम्म प्रधानमन्त्री बनेका सरिफ यो निर्वाचनबाट चौथोपटक सत्तामा पुनरागमन गर्ने दाउमा छन् ।

त्यसो त हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३५ वर्षीय छोरा बिलावल भुट्टो जर्दारी पनि भावी प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिएका छन् । तर उनको दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले कति क्षेत्र जित्छ र समीकरण कस्तो बन्छ त्यसैमा निर्भर हुनेछ ।

चुनावबाट कुनै पनि दलले बहुमत नल्याउने र त्रिशंकु संसद बन्ने अनुमान गरिएका छन् । त्यो अवस्थामा पाकिस्तानको राजनीति झनै संकटग्रस्त हुने त निश्चितै छ जारी आर्थिक संकट पनि थप गहिरिनेछ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।