नेपालबाट चोरी भएका अमूल्य सम्पदा फर्काउने अभियान तीव्र

असार २८, २०८३ |कृपाल गौतम
नेपालबाट चोरी भएका अमूल्य सम्पदा फर्काउने अभियान तीव्र

काठमाडौं । देवताहरुलाई घर फर्काउने क्रम जारी छ । 

सुनेर तपाईहरुलाई अचम्म लाग्ला । तर, यो सही हो । नेपालबाट चोरी भई विभिन्न देश पुर्‍याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्तिहरु फर्काउने अभियान तीव्र पारिएको हो । पछिल्लो पटक अमेरिकाबाट दुई ऐतिहासिक मूर्ति नेपाल ल्याइएपछि फिर्ता भएका पुरातात्विक सम्पदाको संख्या २ सय ३ पुगेको छ। तर, अझै दर्जनौँ नेपाली सम्पदाहरु विश्वका विभिन्न देशका सङ्ग्रहालय र निजी सङ्कलनमा रहेका छन्।

यो १६ औँ शताब्दीको नृत्यदेवीको काठको मूर्ति हो । ललितपुरको पाटनस्थित ई बहावहीबाट २०४५/४६ सालमा हराएको यो मूर्ति नेपालबाट गैरकानुनी रूपमा अमेरिका लगिएको पुष्टि भएको थियो । जुन गत हप्ता नेपाल ल्याइयो । यो मूर्ति अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ भने, थप प्रकियापछि मूर्तिलाई पुरानै ठाउँमा प्रतिस्थापन गरिने छ ।

फेला परेर नेपाल फर्काइएको यो पहिलो मूर्ति होइन । अहिले राष्ट्रिय संग्रहालयमा मात्र फेला पारेका मूर्ति राख्ने दुईवटा कक्ष छन् । एउटामा नेपालमै फेला पारिएका र अर्कोमा विदेशबाट फर्काइएका मूर्ति राखिएका छन् । सङ्ग्रहालयका अनुसार कुनै पनि मूर्ति उत्पत्तिस्थल प्रमाणित भई आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित स्थानमा फिर्ता पठाइन्छ।

यस्ता मूर्तिहरू देशका धार्मिक आस्थाका प्रतीकमात्र होइनन्, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाका अमूल्य धरोहर हुन् । संग्रहालयमा अवलोकन गर्नेहरु यस्ता पुरातात्विक महत्वका वस्तुहरुको राज्यले अब उचित संरक्षण गर्नुपर्ने बताउँछन् ।

यस्ता पुरातात्विक वस्तुहरु कतिपय चोरी भएर विदेश पुर्‍याइएका थिए भने केही तत्कालीन शासकहरूले उपहारस्वरूप दिएका थिए । केही भने किनबेचमार्फत पनि विदेश पुगेका छन्। नेपालबाट कति पुरातात्विक सम्पदा विदेश पुर्‍याइए भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन। तर, पुरातत्व विभागमा २०३८ सालदेखि हालसम्म ४ सय ९ वटा पुरातात्विक महत्वका मूर्ति हराएको भन्दै निवेदन परेको छ। 

तीमध्ये ७७ वटा नेपालभित्रैबाट फेला परेका छन् भने विदेशबाट २ सय ३ वटा नेपाल फिर्ता ल्याइसकिएको छ। हालसम्म सबैभन्दा धेरै १ सय २७ वटा मूर्तिहरु अमेरिकाबाट फिर्ता ल्याइएको छ भने चीनबाट २९, बेलायतबाट २२ , भारतबाट १३ , अस्ट्रेलियाबाट ५, बेल्जियमबाट ३ तथा जर्मनी, अष्ट्रिया, इटाली र निजी सङ्कलकहरूबाट एक–एक वटा गरी २ सय ३ वटा नेपाल फर्काइएका छन्।

त्यसैगरी ९५ वटा मूर्तिहरु नेपालका हुन् भनेर प्रमाण पेस भइसके पनि जवाफ नआएको पुरातत्व विभागले जनाएको छ । स्विडेनबाट ३०, बेलायतबाट २४, फ्रान्स १६, स्विट्जरल्यान्ड १५, अष्ट्रिया ६, अमेरिका ४, अस्ट्रेलिया ३ तथा चीन, सिङ्गापुर र थाइल्यान्डबाट एक–एक वटा मूर्ति नेपाल फर्काउन बाँकी छ। 

पुरातत्व विभागका अनुसार विशेषगरी फ्रान्सबाट यस्ता सम्पदा फिर्ता ल्याउने प्रक्रिया जटिल र चुनौतीपूर्ण रहेको छ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।