
काठमाडौं । नागरिकलाई सरकारको प्रत्यक्ष महसुस गराउने फ्रन्टलाइन निकाय हो- नेपाल प्रहरी ।
आपत्विपत्, बाढीपहिरो, चोरीअपराध जे होस् नागरिकलाई सहयोग गर्न पुग्ने राज्यको पहिलो निकाय नै प्रहरी हो । तर, पछिल्ला केही घटनाक्रमले नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्धलाई चुनौती दिइरहेको छ । यस्तो किन हुन्छ ?
कानुन कार्यान्वयन गर्ने निकायलाई नागरिकले किन अपनत्व लिएका छैनन् ?
कीर्तिपुरस्थित सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टरमा शनिबार बाढी पस्यो । त्यसको अवस्था बुझ्न पुगेका जेन-जी अभियन्ताहरू माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले कुटपिट गर्दै नियन्त्रणमै लियो । त्यतिबेला प्रहरीले प्रयोग गरेको शब्दमा समेत अहिले निकै आलोचना भइरहेको छ ।
शनिबारको घटना मात्र होइन, नागरिक र प्रहरीको सुमधुर सम्बन्धलाई चुनौती दिने धेरै उदाहरणहरू पछिल्लो समय सतहमा आइरहेका छन् । गत भदौ २३ र २४ को जेन-जी आन्दोलनमै पनि संस्थापनविरुद्धको आन्दोलनको निशानामा प्रहरीहरू नै परे । यसले दुईटा प्रश्न खडा गरेको छ- कानुन कार्यान्वयन गर्ने निकायप्रति नागरिक किन असन्तुष्ट छन् ?
अनि कानुन कार्यान्वयन गर्ने निकाय सधैँ तारोमा परिरहँदा यसले कानुनी राजलाई संकटमा त पार्दैन ? आपत्विपत्मा सबैभन्दा अग्रपंक्तिमा सधैँ प्रहरी नै खटिन्छ । नागरिकसँग राज्यको कुनै निकाय प्रत्यक्ष जोडिन्छ भने पनि त्यो प्रहरी नै हो । अर्थात् प्रहरी देख्दा नागरिकले सुरक्षित महसुस गर्नुपर्ने हो । तर, व्यवहारमा भने नागरिक र प्रहरीले एकअर्कालाई फरक ध्रुवको जस्तो किन ठान्छन् ?
हुन त प्रहरीले मुस्कानसहितको सेवा, प्रहरी मेरो साथी, हाम्रो प्रहरी, समुदायमा प्रहरीलगायत नागरिकसँग सम्बन्ध विस्तार गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जसले सामीप्य बनाउने प्रहरीको प्रयत्नलाई देखाउँछ नै । र, प्रहरी पनि नागरिकसँगको सम्बन्ध विश्वासकै आधारमा टिकेको बताउँछ ।
तर, नागरिक अभियन्ताहरू भने प्रहरी सचेतनामुखी र अपराध रोकथामभन्दा दण्डमुखी बन्दा विश्वास डगमगाएको बताउँछन् । प्रहरीले कानुन उल्लंघन भएपछि कारबाही गर्ने मात्र होइन, उल्लंघन हुनै नदिन सचेतना, संवाद र विश्वास निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ ।
प्रहरी र नागरिकबीचको सम्बन्ध केवल कानुन कार्यान्वयनमा सीमित हुँदैन, यो राज्यप्रतिको नागरिकको विश्वाससँग पनि जोडिएको हुन्छ । त्यसैले दण्डभन्दा संवाद, नियन्त्रणभन्दा सहकार्य र कारबाहीभन्दा विश्वास निर्माणमा जोड दिन सके मात्रै प्रहरी र नागरिकबीचको दूरी घटाउन सकिन्छ ।