इजरायल-हमास संघर्ष विरामसम्बन्धी संकल्प प्रस्ताव रोकेपछि अमेरिकाको चौतर्फी आलोचना

मंसिर २३, २०८०
इजरायल-हमास संघर्ष विरामसम्बन्धी संकल्प प्रस्ताव रोकेपछि अमेरिकाको चौतर्फी आलोचना

काठमाडौं । गाजामा मानवीय संघर्षविराम गर्ने प्रस्तावमा भिटो प्रयोग गरेर अमेरिकाले पारित हुन नदिएपछि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरुले चौतर्फी आलोचना गरेका छन् ।

राष्ट्रसंघ सुरक्षा परिषदको शुक्रबार भएको बैठकमा अमेरिकाले भिटो प्रयोग गरी युनाइटेड अरब इमिरेट्सले राखेको संघर्ष विरामसम्बन्धी संकल्प प्रस्तावलाई रोकेको थियो । ह्युमन राइट्स वाचले यो निर्णयबाट अमेरिका युद्ध अपराधमा संलग्न हुने खतरा बढेको चेतावनी दिएको छ। सहायता निकाय अक्सफामले पनि यसले अमेरिकी मानव अधिकार विश्वसनीयतामै आँच पुगेको बताएको छ ।

राष्ट्रसंघका लागि इजरायली राजदूत गिलार्ड एर्दानले भने सुरक्षा परिषद्को प्रस्ताव रोकेर आफ्नो पक्षमा देखाएको ऐक्यबद्धताप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् । बन्धकको मुक्ति र हमास ध्वस्त भएपछि मात्रै युद्धविराम सम्भव भएको उनको भनाइ छ।

हमासले अमेरिकी विशेषाधिकार प्रयोगलाई अमानवीय भन्दै निन्दा गरेको छ । यसैबीच, इजरायलले शनिबार गाजाको दक्षिणी क्षेत्रमा गरेको गोलाबारीबाट ठूलो संख्यामा प्यालेस्टिनी हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासको हमलामा १२ सय इजरायली मारिएपछि इजरायलले भीषण आक्रमण गरिरहेको छ । इजरायली आक्रमणबाट ७ हजार बालबालिकासहित १७ हजारभन्दा धेरै प्यालेस्टिनीको ज्यान गइसकेको छ ।