काठमाडौं । इजरायलको भीषण आक्रमणबाट बच्न र जीवन रक्षाको खोजीसहित हजारौँ प्यालेस्टिनी सर्वसाधारणले गाजा क्षेत्र छाडिरहेका छन् ।
इजरायली बमबारी र मानवीय सहायतामा लगाइएको रोकले गाजामा खानेकुरा र पिउने पानीको समेत अभाव भएको छ । रफा नाकामा दक्षिणी गाजा क्षेत्र छाड्नेको लर्को लाग्ने गरेको छ । करिब उन्नाइस लाख प्यालेस्टिनी दक्षिणी गाजामा आश्रय लिएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा सहायता सामाग्री पुर्याउन नयाँ प्रवेशद्वार खोल्न इजरायल सहमति नजिक पुगेको जनाएको छ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्टिन ग्रिफित्स्ले गाजामा मानवीय सहायताको लागि नयाँ प्रवेशद्वार खोल्न इजरायलसँग सहमति नजिक पुगेको बताएका छन् ।
महासचिव अन्टोनियो गुटेरेसले त बडापत्रको धारा उनान्सय प्रयोग गरेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम राख्न सुरक्षा परिषद्को ध्यानाकर्षण गराएका छन् । उनले गाजामा भइरहेको युद्ध रोक्न आग्रहसमेत गरेका छन् ।
प्यालेस्टिनी प्रतिनिधिले भने सुरक्षा परिषद्ले आज युद्धविराम सम्बन्धी प्रस्ताव पारित गर्ने आशा राखेका छन् । हजारौँ प्यालेष्टिनीले संयुक्त राष्ट्रसंघको विद्यालयमा शरण लिने प्रयास गरेका छन् । तर कोठा नपाएर भवन अगाडि सुतेका छन् ।
हमासको हमलामा बाह्र सय इजरायली मारिएपछि इजरायलले भीषण आक्रमण गरिरहेको छ । इजरायली आक्रमणबाट सात हजार बालबालिकासहित सत्र हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ ।