अमेरिकी दबाबपछि गाजामा प्रतिदिन २ ट्रक इन्धन दिन इजरायल सहमत

मंसिर २, २०८० |कान्तिपुर टीभी संवाददाता
अमेरिकी दबाबपछि गाजामा प्रतिदिन २ ट्रक इन्धन दिन इजरायल सहमत

काठमाडौं । अमेरिकाको दबाब पश्चात् इजरायलले गाजामा प्रतिदिन २ ट्रक इन्धन दिन सहमत भएको छ । यो सहमति लागु भए प्रत्येक दिन १ लाख ४० हजार लिटर इन्धन गाजा क्षेत्रमा जानेछ ।

गाजा पुगेको इन्धनको प्रयोग संयुक्त राष्ट्र सङ्घको मानवीय कार्यहरूमा गरिने छ भने केही इन्धन सञ्चार सेवा संस्थालाई दिइने छ । हिजो गाजाको दूरसञ्चार कम्पनीले आफ्नो सेवा संयुक्त राष्ट्र सङ्घले दिएको इन्धनको सहयोगमा सुचारु हुन थालेको बताएको थियो । 

बिहीबार राष्ट्र सङ्घको प्यालेसिटिनी शरणार्थीहरुका लागि एजेन्सीका प्रमुखले इन्धन आपूर्ति नभए आफ्ना सम्पूर्ण मानवीय सहायताका कार्यहरू रोक्न बाध्य हुने बताएका थिए । गाजामा आफ्ना कार्यलाई निरन्तरता दिन प्रत्येक दिन १ लाख ६० हजार लिटर इन्धन आवश्यक छ । 

हमास लडाकुका हातमा इन्धन नपुग्ने प्रत्याभूति पश्चात् आपुर्तिका लागि इजरायल सहमत भएको हो र यो इन्धनले गाजामा महामारी नियन्त्रण गर्ने आशा गरिएको छ । विश्व स्वास्थ्य संघठनले गाजाको स्वास्थ्य सेवा प्रणाली र सरसफाइ सुविधाहरू खस्कँदै गएकोमा महामारीको प्रकोप बढेको बताउँदै आएको थियो । 

शुक्रबार मात्रै विश्व स्वास्थ्य सङ्गठनले प्यालेसटिनी क्षेत्रमा ७० हजार भन्दा बढिलाई श्वास प्रश्वास सङ्क्रमण र ४४ हजार भन्दा बढिलाई झाडा पखाला भएको जानकारी गराएको थियो । यसैबिच गाजाको अल सिफा अस्पतालमा इजरायली सेनाले छापा मार्ने क्रम जारी राखेका छन् । 

अस्पतालका अधिकारीले इन्धन र बिजुलीको अभावका कारण गहन हेरचाह इकाई सञ्चालन गर्न नसेकेको र अहिलेसम्म गम्भीर घाइतेहरूको उपचारको अभावमा मृत्यु भएको जनाएको छ । यसै गरी समय अगावै जन्मिएका चार शिशुको पनि  ज्यान गएको र थप ५ को कुनै पनि समय मृत्यु हुन सक्ने बताइएको छ । 

इजरायली हमलामा परि गाजामा अहिलेसम्म १२ हजार भन्दा बढी मारिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.