बन्धक नागरिक मुक्त नगरेसम्म गाजामा घेराबन्दी जारी राख्ने इजरायलको चेतावनी

आश्विन २५, २०८०
बन्धक नागरिक मुक्त नगरेसम्म गाजामा घेराबन्दी जारी राख्ने इजरायलको चेतावनी

जेरुसेलम । इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिक मुक्त नभएसम्म गाजा क्षेत्रमा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने र घेराबन्दी जारी रहने जनाएको छ । यसको अर्थ गाजामा रहेका करिब २० लाख प्यालेस्टिनी बिजुली, इन्धन तथा पानीबिना बस्न बाध्य हुनेछन् ।

हमास लडाकुहरुले इजरायलमा शनिबार गरेको आक्रमणपछि विदेशी नागरिकसहित करिब १५० जनालाई बन्धक बनाएका छन् । हमासको आक्रमणमा परी शनिबार यता १२ सय इजरायली मारिएका छन् भने इजरायलको जवाफी आक्रमणमा करिब त्यतिकै संख्यामा प्यालेस्टिनी पनि मारिएका छन् । इजरायलले जवाफी आक्रमण गरेयता तीन लाख ३८ हजारभन्दा बढी प्यालेस्टिनी गाजा क्षेत्रबाट विस्थापति भइसकेका छन् ।

गाजामा रहेका अधिकारीहरुका अनुसार त्यहाँको पावर प्लान्ट इन्धनको अभावमा बन्द भइसकेकाले सम्पूर्ण गाजा क्षेत्र ठूलो मानवीय संकटतर्फ उन्मुख रहेको छ । गाजामा कार्यरत रेडक्रसका प्रतिनिधिहरुका अनुसार त्यहाँको अस्पतालहरुले आजसम्म मात्रै जेनेरेटरको सहायताले बिजुली उपलब्ध गराउन सक्नेछन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आपतकालीन संयुक्त सरकार गठन गर्दै गाजालाई पूर्ण रुपमा तहसनहस गर्ने घोषणा गरेका छन् ।


Enter Kantipur TV HD
Advertisement