इजरायल-हमास युद्धमा संलग्न नहुन इरानलाई अमेरिकाको चेतावनी

आश्विन २५, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायल-हमास युद्धमा संलग्न नहुन इरानलाई अमेरिकाको चेतावनी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल-हमास युद्धमा संलग्न नहुन इरानलाई कडा चेतावनी दिएका छन् ।

यहुदी समुदायका नेताहरुसँग हृवाइट हाउसमा भएको गोलमेच बैठकमा बोल्दै बाइडेनले इरानलाई सावधान हुन चेतावनी दिएका हुन् । प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणमा इरानको सहयोग रहेको आंशकाकाबीच बाइडेनले यस्तो चेतावनी दिएका छन् ।

इरानले त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेपनि हमासको प्रशंशा गरेको थियो । पश्चिमा देशले इजरायलप्रति समर्थन जनाइरहँदा इरान हमासको समर्थनमा आउने र यसले क्षेत्रीय द्वन्द्वको रुप लिन सक्ने अन्तर्राष्ट्रिय चिन्ताबीच बाइडेनको यस्तो भनाइ आएको हो । अमेरिकाले इजरायलको सहयोगार्थ सैन्य उपकरण पठाउनुकासाथै इजरायल नजिकैको पूर्वी भूमध्य सागरमा युद्धपोत पठाइसकेको छ । यसैबीच इजरायलप्रति समर्थन जनाउन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

इजरायलले गाजामाथि भीषण बमबारी जारी राखेको छ भने उसले गाजामा खाद्यान्न, इन्धन र पानीको आपूर्तिमा लगाएको नाकाबन्दीका कारण त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । इन्धनको अभावका कारण गाजाको एकमात्र विद्युत उत्पादन पावर प्लान्ट बन्द हुँदा मानिसहरु अन्धकारमा बस्न बाध्य भएको जनाइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आम मानिससम्म अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न आहृवान गरेका छन् ।

हमासले गरेको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने इजरायलले गाजामा गरेको हवाई आक्रमणबाट ११ सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाइएको छ ।

यसैबीच इरानका राष्ट्रपति इब्राहिम रइसी र साउदी अरबका राजकुमार मोहम्मद विन सलमानबीच इजरायल गाजा द्वन्द्वका विषयमा टेलिफोन वार्तालाप भएको छ । दुवै नेताबीच प्यालेस्टाइनविरुद्धको युद्ध अपराध रोक्ने विषयमा छलफल भएको इरानी संचारमाध्यमले जनाएका छन् । पारस्परिक वैमनस्यता राख्दै आएका यी दुई क्षेत्रीय शक्ति राष्ट्रका नेताबीच सात वर्षको शत्रुतापछि पहिलो पटक टेलिफोन वार्ता भएको बीबीसीले उल्लेख गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement