इजरायल-हमासबीचको युद्ध अन्त्य गर्न टर्किएद्वारा मध्यस्थताको प्रस्ताव, मृतकको संख्या २२ सय नाघ्यो

आश्विन २४, २०८०
इजरायल-हमासबीचको युद्ध अन्त्य गर्न टर्किएद्वारा मध्यस्थताको प्रस्ताव, मृतकको संख्या २२ सय नाघ्यो

जेरुसेलम । टर्किएका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हमास-इजरायल द्वन्द्व समाधानका लागि मध्यस्थताको प्रस्ताव गरेका छन् । अर्दोआनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको अनाडोलु समाचार समितिले जनाएको छ ।

दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरु आदान-प्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्किए तयार रहेको अर्दोआनको भनाइ छ । उनले प्यालेस्टिनी क्षेत्रमा बम आक्रमण रोक्न र इजरायलका नागरिक बस्तीमा उत्पीडन रोक्न प्यालेस्टिनीलाई आग्रह गरेका छन् ।

अर्दोआनले इजरायल-हमास द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि रुसी समकक्षी भ्लादिमिर पुटिन, इजरायली राष्ट्रपति आइज्याक हर्जोग र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग पनि छलफल गरेको जनाइएको छ ।

यसैबीच, इजरायल र हमासबीच पाँच दिनदेखि जारी युद्धमा दुवैतर्फ गरी मृत्यु हुनेको संख्या २२ सय नाघेको छ । इजरायलमा १२ सय गाजामा एक हजार मानिसको मृत्यु भएको हो । इजरायलले हमासविरुद्धको प्रतिकार कारबाहीका लागि गाजाको सीमा क्षेत्रमा तीन लाख रिजर्भ सेनासहित ठूलो संख्या सेना परिचालन गरेको छ । इजरायले गाजामा विद्युत, इन्धन तथा पानी आपूर्ति बन्द गर्दै पूर्ण नाकाबन्दी गरेपछि मानवीय संकट गहिरिएको छ ।

यसक्रममा साढे दुई लाख प्यालेस्टिनी विस्थापित भएका छन् भने गाजाको एकमात्र ऊर्जा केन्द्रमा इन्धन अभाव भएको प्यालेस्टिनी ऊर्जा प्राधिकरणले जनाएको छ । अधिकांश सर्वसाधारणले विद्यालय तथा अस्पतालमा शरण लिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलमाथि हमासले गरेको आक्रमणलाई चरम दुष्ट्याईंको संज्ञा दिएका छन् । अमेरिकी सैन्य सहायता उपकरण बोकेको पहिलो विमान दक्षिणी इजरायलको नेभाटिम हवाई अखडामा आइपुगेको छ । अमेरिकी नौसैनिक युद्धपोत जेराल्ड फोर्ड पनि इजरायल नजिकै पूर्वी भूमध्य सागरमा पुगिसकेको जनाइएको छ । इजरायलप्रति ऐक्यबद्धता जनाउन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन भोलि त्यहाँ पुग्ने जनाइएको छ ।

उता, हमासले पनि इजरायलमा आक्रमण जारी राखेको छ । आज पनि उत्तरी तथा दक्षिणी इजरायलमा रकेट आक्रमणका साइरन बजेको बीबीसीले जनाएको छ ।


Enter Kantipur TV HD
Advertisement