ताइवानद्वारा डेढ अर्ब अमेरिकी डलरमा स्वदेशमै निर्मित पहिलो पनडुब्बी सार्वजनिक

आश्विन ११, २०८०
ताइवानद्वारा डेढ अर्ब अमेरिकी डलरमा स्वदेशमै निर्मित पहिलो पनडुब्बी सार्वजनिक

ताइपेई । चीनबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न आफ्नो सैन्य क्षमता बढाइरहेको ताइवानले स्वदेशमै निर्मित पहिलो पनडुब्बी सार्वजनिक गरेको छ ।

राष्ट्रपति साई इङ वेनको उपस्थितिमा तटीय सहर काओसिङमा नवनिर्मित पनडुब्बी सार्वजनिक गरिएको हो । डिजेल र विद्युत् दुवैबाट चल्ने उक्त पनडुब्बीको निर्माण एक अर्ब ५४ करोड अमेरिकी डलरमा गरिएको हो भने यसको नाम हाइकुन राखिएको छ ।

चिनियाँ प्राचीन साहित्यमा उड्न सक्ने क्षमता भएको एउटा विशाल पौराणिक माछाको नाम हाइकुन रहेको छ । आगामी वर्षको अन्त्यसम्ममा यो पनडुब्बी नौसेनलाई हस्तान्तरण गरिने र त्यसअघि यसको विविध परीक्षणहरु गरिने जनाइएको छ ।

यस्तै एक अर्को शक्तिशाली पनडुब्बी निर्माणका क्रममा रहेको र अन्ततोगत्वा आफ्नो नौसैनिक बेडामा १० वटा पनडुब्बी परिचालित गर्ने र तिनमा क्षेप्यास्त्रसमेत तैनाथ गर्ने ताइवानको लक्ष्य छ । स्वदेशी पनडुब्बी कार्यक्रमका प्रमुख एडमिरल ह्वाङ शुले पनडुब्बी परिचालनको लक्ष्य चीनले ताइवानलाई घेर्न गर्ने कुनै पनि प्रयासलाई रोक्नु रहेको रहने बताएका छन् ।

आक्रमण भइहालेको अवस्थामा अमेरिका र जापानबाट सैन्य सहायता आउन्जेलसम्मका लागि समय प्राप्त गर्नु पनि यसको उद्देश्य रहने उनले बताएका छन् ।

अमेरिकी अधिकारीहरुले चीनले आगामी केही वर्षमा ताइवानमाथि आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएका छन् । ताइवान स्वशासित टापु हो भने चीनले यसलाई आफूबाट छुटि्टएको प्रान्तका रुपमा मान्दै आएको छ । बेइजिङले शान्तिपूर्ण रुपमा ताइवानलाई आफूमा पुनःएकीकरण गर्ने दृढता व्यक्त गर्दै आएको छ ।