क्यानडेली सभामुख एन्थोनी रोटाले दिए राजीनामा

आश्विन १०, २०८०
क्यानडेली सभामुख एन्थोनी रोटाले दिए राजीनामा

ओटावा । क्यानडाको संसद् (हाउस अफ कमन्स) का सभामुख एन्थोनी रोटाले पदबाट राजीनामा दिएका छन् ।

दोस्रो विश्वयुद्धमा जर्मन सेनामा रहेर लडेका एकजना युक्रेनी पूर्वसैनिकलाई हिरोको उपमा दिएर संसद्‌मा सम्मान गरिएको विषयमा विवाद बढेपछि सभामुखले राजीनामा दिएका हुन् ।

यो घटनालाई लिएर सभामुख रोटाले यसअघि नै माफी मागिसकेका थिए तर चौतर्फी दबाब बढ्दै गएपछि पार्टीका नेताहरुसँग भेटवार्ता गरेका रोटाले संसदमा राजीनामाको घोषणा गरेका हुन् ।

पूर्वनाजी एक सैनिकलाई संसद्‌मा निम्त्याएर सम्मान गरिएको विषयमा विवाद बढ्यो

गत शुक्रबार भएको उक्त घटनाको विश्वस्तरमै भर्त्सना गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संसद् भ्रमणमा आएका बेला सभामुख रोटाले ९८ वर्षीय यारोस्लाभ हुन्कालाई युक्रेनी स्वतन्त्रताका लागि रुसविरुद्ध लडेका हिरो भन्दै प्रशंसा गरेका थिए । सभामुखको सो घोषणापछि सांसदहरुले उभिएर तालि बजाउँदै हुन्काप्रति सम्मान व्यक्त गरेका थिए । जेलेन्स्कीले पनि मुट्ठी उचालेर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।

हुन्का पूर्वनाजी सैनिक भएको खुलासा भएपछि सभामुख रोटाको देशभित्र र बाहिर व्यापक आलोचना भएको थियो । यहुदी समाजका साथै रुस र पोल्यान्डले हुन्कालाई सम्मानित गरिएकामा आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले समेत क्यानडेली नागरिक र संसद्‌का लागि यो घटना लज्जाजनक भएको बताएका थिए । हाल क्यानडामा बस्दै आएका हुन्का सभामुख रोटाको जिल्लामै बस्दै आएका छन् ।

युक्रेनी पूर्वसैनिकलाई सम्मान गरेको विषयले क्यानडेली राजनीतिमा तरंग