सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ : सदस्य सचिव ढकाल

वैशाख २६, २०८२ |विकास आचार्य
सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ : सदस्य सचिव ढकाल

काठमाडौं । भारत-पाकिस्तान युद्धले समरमाथा संवाद प्रभावित नहुने वन मन्त्रालयका सहसचिव एंव सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले बताउनुभयो । ढकालका अनुसार तोकिएकै समयमा सगरमाथा संवाद सम्पन्न हुनेछ ।

शुक्रबार परराष्ट्रमन्त्री स्तरीय संवाद व्यवस्थापन समितिको बैठक समेत बसेको थियो । सो समितिमा पनि भारत-पाकिस्तान युद्धले सगरमाथा संवादमा पार्ने भूराजनीतिक प्रभाव र असरबारे छलफल भएको स्रोतको दाबी छ । नेपालमा भारत-पाकिस्तान युद्धको प्रभाव नपर्ने र तयारी र लगानीको दृष्टिकोणले संवाद स्थगन गर्न नहुने मत व्यवस्थापन समितिको रहेको स्रोतको दाबी छ ।

सगरमाथा संवादका लागि अब मात्रै एक साता समय बाँकी छ । जेठ २ गते ९ बजे नै उद्घाटन गर्ने सरकारको तयारी छ ।

भारत, चीन लगायाका मुलुकबाट मन्त्रीस्तरीय प्रतिनिधित्व रहने पनि लगभग पक्का भएको छ । प्रमुख अतिथि भने १ गते मात्रै तय गरिने बुझिएको छ । विश्व जलवायु सम्मेलन (कप २९) का अध्यक्ष, संयुक्त राष्ट्रसंघ उपल्लो तहका प्रतिनिधि वा आमन्त्रण गरिएका मध्ये कुनै एक राष्ट्रका प्रमुखलाई प्रमुख अतिथि बनाउने भन्ने छलफल भइरहेको छ ।

सगरमाथा संवाद स्थगित नहुने भएपछि सचिवालय भने अतिथिको बसोवास व्यवस्थापनदेखि कार्यक्रमस्थलको एकीकृत ढाँचा बनाउन जुटेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।