ओटावा । दोस्रो विश्वयुद्धमा जर्मन सेनामा रहेर लडेका एकजना ‘युक्रेनी पूर्व नाजी-सैनिक’ लाई हिरोको उपमा दिएर संसद्मा सम्मान गरिएको विषयलाई लिएर क्यानडाको राजनीति तरंगित भएको छ ।
संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख एन्थोनी रोटाले सम्पूर्ण गल्ती आफ्नो भएको भन्दै क्षमायाचना गरेका छन् । ती व्यक्ति आफ्नै जिल्लाका बासिन्दा भएको र आफूले पर्याप्त जानकारीबिनै उक्त कदम चालेको भन्दै उनले आफ्नो निर्णयप्रति खेद व्यक्त गरेका छन् ।
क्यानेडाली यहुदी समूह सीआईजेएले यहुदीहरुको जातीय सफायामा संलग्न पूर्वनाजी सैनिकलाई सम्मान गरिएको विषयले मर्माहत भएको भन्दै आपत्ति जनाएको छ । रुसले पनि यस विषयमा क्यानडा सरकारसँग औपचारिक जवाफ माग्ने भन्दै आक्रोश व्यक्त गरेको छ ।
आफ्नै निर्णयप्रति सभामुखको आत्मालोचना, प्रधानमन्त्री ट्रुडोले माफी माग्नुपर्ने रुसको माग
क्यानडाको विपक्षी दल कन्जरभेटिभ पार्टीका नेता पिएरा पोलिएभरले यस घटनाका लागि प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि क्षमायाचना गर्नुपर्ने माग गरेका छन् ।
यारोस्लाभ हुन्का नाम गरेका ९८ वर्षीय युक्रेनी मुलका क्यानेडियनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भ्रमणको अवसर पारेर तीन दिनअघि अर्थात यही सेप्टेम्बर २२ मा संसद्मा उभिएर ताली बजाउँदै सम्मान गरिएको थियो । सभामुख एन्थोनी रोटाले संसद्को ग्यालरीमा बसिरहेका हुन्कालाई युक्रेनी स्वतन्त्रताका लागि रुसविरुद्ध लडेका युक्रेनी र क्यानेडाली हिरो भन्दै प्रशंसा गरेका थिए । प्रत्युत्तरमा सांसदहरुले उभिएर ताली बजाउँदै उनीप्रति सम्मान व्यक्त गरेका थिए । यसो गर्नेमा प्रधानमन्त्री जस्टिन ट्रुडोका साथै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसमेत रहेका थिए ।
जेलेन्स्कीले मुट्ठी उचालेर उनीप्रति सम्मान व्यक्त गरेका थिए । दोस्रो विश्वयुद्ध ताका हजारौं युक्रेनीले जर्मनीको पक्षबाट लडेको तर थप लाखौंले सोभियत संघको रेड आर्मीका तर्फबाट युद्धमा भाग लिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।