काठमाडौं । अन्तरिक्षमा रहेको एउटा छुद्र ग्रह (एस्टेरोइड) को चट्टान र धुलोको नमुना लिएर नासाको अन्तरिक्ष क्याप्सुल अमेरिकाको युटाह राज्यको पश्चिमी मरुभूमिमा सफलतापूर्वक अवतरण गरेको छ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘ओसाइरिस-रेक्स’ नामको अन्तरिक्ष यानले उक्त क्याप्सुललाई एक लाख आठ हजार किलोमिटरको दूरीमा रहेका बेला पृथ्वीतर्फ खसालेको थियो । पृथ्वीको सतहनजिकै आएपछि उक्त क्याप्सुलमा रहेको प्यारासुट खुलेको र निर्धारित क्षेत्रमै अवतरण गरेको हो ।
नासाले सन् २०१६ मा प्रक्षेपण गरेको अन्तरिक्ष यान ‘ओसाइरिस-रेक्स’ ले २०२० मा सौर्यमण्डलमा रहेको बेनु नामको छुद्रग्रहको सतहबाट चट्टानी टुक्रा र धुलोको नमुना संकलन गरेर क्याप्सुलभित्र राखेको थियो । सोही क्याप्सुल पृथ्वीमा सफलतापूवर्क अवतरण गराइएको हो । सो क्याप्सुलमा छुद्र ग्रहको करिब २५० ग्राम नमुना रहेको र यसको अध्ययनबाट साढे चार अर्ब वर्षअघि सौर्यमण्डलको निर्माण कसरी भयो र पृथ्वीमा कसरी जीवनको प्रारम्भ भयो भन्ने विषयमा नयाँ जानकारी प्राप्त हुन सक्ने आशा गरिएको छ ।
छुद्रग्रह अथवा एस्टेरोइड साना तर चट्टानी वस्तु हुन् जुन सूर्यको वरिपरि घुम्छन् । यिनीहरु अत्यन्तै साना हुने भएकाले ग्रहको श्रेणीमा राखिँदैन । यिनीहरुको आकार एक मिटरदेखि एक हजार किलोमिटर व्यासको हुन सक्ने जनाइएको छ ।
छुद्रग्रहको नमुना संकलन गरेर पृथ्वीमा ल्याइएको यो तेस्रोपटक हो । तर यति धेरै नमुना ल्याइएको भने यो पहिलोपटक हो । यसअघि जापानको अन्तरिक्ष संस्थाले दुईपटक छुद्र ग्रहको नमुना पृथ्वीमा ल्याइसकेको छ ।
अन्तरिक्ष वैज्ञानिकहरुले सन् १९९९ मा बेनु छुद्रग्रह पत्ता लगाएका हुन् । प्रत्येक ६ वर्षमा पृथ्वीको एकदमै नजिक आउने भएकाले यसलाई ‘नियर अर्थ अब्जेक्ट’ का रुपमा वर्गीकरण गरिएको छ । यो छुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना कम रहे पनि आगामी तीन सय वर्षमा भने यसको जोखिम हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ ।