अमेजन जंगलभित्र ४० दिनपछि भेटिएका ४ बालबालिका

जेष्ठ २८, २०८० |अमृत दाहाल
अमेजन जंगलभित्र ४० दिनपछि भेटिएका ४ बालबालिका

बोगोटा । कोलम्बियामा विमान दुर्घटना भएको ४० दिनपछि ४ बालबालिका जीवितै भेटिएको घटना अहिले विश्वभर चर्चा र चासोको विषय बनेको छ । अमेजन जंगलभित्र भेटिएका ती बालबालिकाको अहिले बोगोटास्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । आखिर ती बालबालिका यतिका दिनसम्म के खाए ?

गत वैशाख १८ का दिन सिंगल इन्जिनको एउटा सानो जहाज कोलम्बियाको आमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारेतर्फ जाँदै थियो । अचानक इन्जिन फेल भएर अमेजन जंगलको अनकन्टार क्षेत्रमा दुर्घटना भयो ।

विमानमा रहेका ७ जनामध्ये चालक दलका दुई सदस्य र एक महिलाको शव फेला पर्‍यो । तर, विमानमा सवार चार बालबालिका भेटिएनन् । तिनीहरु जीवितै छन् कि छैनन् भन्ने आशंकाका बीच उद्धार टोलीले क्षतिग्रस्त विमाननजिक आधा खाएको फलका टुक्रा फेला पार्‍यो । यसले बालबालिका जीवितै छन् भन्ने आशालाई बल पुर्‍यायो । अनि खोजबिन तीव्र बनाइयो ।

यसका लागि २ सय सैनिक र उक्त क्षेत्रका जानकार आदिवासी समुदायले ३ सय २० वर्गकिलोमिटर क्षेत्रको जंगलमा खोजी गरे । बालबालिकाहरु १३, ९, ४ र एक वर्षका थिए । तर अमेजनको घना जंगलमा सधैं चितुवा, विषालु सर्प, लामखुट्टेजस्ता जीवजन्तुका साथै आपराधिक समूहहरुको त्रास रहिरहन्छन् ।

बालबालिकाहरुलाई सानो चोट लाग्दा पनि छिनभरमै संक्रमण हुने र मलेरिया, भाइरल हेपाटाइटिसजस्ता रोग लाग्ने सम्भावना हुन्छ । वर्षायाम लागिसकेको अवस्थामा जंगलको तापक्रम २५ डिग्री सेल्सियस पुगिसकेको थियो, जसले बालबालिकाहरु तिर्खाले आलसतालस पर्न पनि सक्थे ।

बालबालिकाहरु स्थानीय हुईटिटो समुदायका हुन् । यो समुदायका सदस्यहरुले जन्मैदेखि जंगलमा कसरी बँच्ने भनेर सिकेका हुन्छन् । उनीहरुका हजुरबाले पनि बेलायतको डेलीमेलसँग उनीहरुलाई सानैदेखि जंगलमा शिकार गर्न र माछा मार्न सिकाइएको बताएका छन् । यता खोजी जारी रहँदा हुईटिटो समुदायले पनि पारम्परिक समारोह आयोजना गरेर बच्चाको सकुशल फिर्तिको कामना गरेका थिए ।

खोजीका क्रममा दुर्घटनाक्षेत्रमा विमानमार्फत् उनीहरुका हजुरआमाको आवाज सुनाएर खोजी भइरहेकाले कतै नजान भनियो । उद्दारकर्मीहरुले स्पेनिस र हुईटिटो भाषामा लेखिएका १० हजार पर्चा जंगलमा छरे, जसमा जंगलमा बाँच्ने तरिका लेखिएका थिए । साथमा खाना र पानी पनि खसालियो ।

खोजीका क्रममा शिशुले पानी खान प्रयोग गरेको बोत्तल, कपाल बाँध्ने रबर र कैंची फेला परेपछि बालबालिका जिवितै छन् भन्नेमा उद्धार टोली अझ विश्वस्त भए । अनि, हिलोमा भेटिएको पाइलाले उनीहरु कुन दिशातर्फ गइरहेका छन् भनेर निर्देश गरिरहेको थियो,जसलाई तालिमप्राप्त बेल्जियन शेर्फड कुकुरले अझ बढी सहयोग गर्‍यो ।

निरन्तरको वर्षा र जंगलका अग्ला अग्ला रुखले पनि तीन हेलिकोप्टर र तालिमप्राप्त कुकुरसहितको उद्धार अभियानलाई रोकेन । अन्ततः ४० दिनको अनवरत प्रयासपछि बालबालिकाहरु सकुशल फेला परे । वृद्धा हजुरआमाले खुसी हुँदै राष्ट्रपति गुस्ताभो पेट्रोलाई धन्यवाद दिइन् ।

खोजी अभियानको नेतृत्व गरेका जनरल पेड्रो सान्चेजले यो सफलताका लागि आदिवासी समुदायको मुख्य भूमिका रहेको उल्लेख गर्दै भने-हामीले बच्चा फेला पार्‍यौं, चमत्कारै भएको छ ।


Image

अमृत दाहाल

दाहाल कान्तिपुर टेलिभिजनको डेस्कमा कार्यरत छन् ।