जब ब्यागमा अल्झिएर लडे राष्ट्रपति जो बाइडन... (भिडियोसहित)

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
जब ब्यागमा अल्झिएर लडे राष्ट्रपति जो बाइडन... (भिडियोसहित)

कोलोराडो । अमेरिकी राष्ट्रपति जो बाइडन अमेरिकी एयर फोर्सको प्रमाणपत्र वितरण समारोहमा अल्झिएर लडेका छन् ।

कोलोराडोमा भएको उक्त घटनामा राष्ट्रपति बाइडनलाई केही नभएको र उनी स्वस्थ रहेको ह्वाइट हाउसले जनाएको छ । लडे लगत्तै उनलाई तीन जनाले उठाएका थिए भने उठे लगत्तै उनले स्टेजमा राखिएको एउटा सानो कालो ब्यागतर्फ संकेत गरेका थिए । 

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले बाइडनले हात मिलाइरहँदा स्टेजमा एउटा स्यान्ड ब्याग रहेको भन्दै ट्विट गरेका छन् । अन्तिम प्रमाणपत्र वितरण गरेर आफ्नो सिटमा फर्किने क्रममा स्टेजमा राखिएको दुईवटा कालो ब्याग मध्ये एउटामा अल्झिएर बाइडन लडेका हुन् । ती दुई ब्याग बाइडनको सम्बोधनलाई सघाउन राखिएका टेलिप्रोम्पटर अड्याउन प्रयोग गरिएको जनाइएको छ ।

लड्नुअघि राष्ट्रपति बाइडन ‘पास आउट’ भएका सबै ९ सय २१ जना ग्रयाजुएटसँग हात मिलाउन करिब डेढ घण्टा निरन्तर उभिएका थिए । 

 यसअघि पनि एक पटक साइकल चलाउँदै गर्दा र अर्को पटक विमान चढ्दै गर्दा उनी सिंढीमा लडखडाएका थिए । ८० वर्षीय बाइडन देशको सर्वाधिक उमेरका राष्ट्रपति हुन् । उनले आगामी वर्ष हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि पनि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । 

आलोचकले भने दोस्रो कार्यकालका लागि चुनाव लड्न उनी निकै बुढा भइसकेको भनेर टिप्पणी गर्ने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.