युक्रेनलाई नेटो सदस्य बन्नबाट रुसले रोक्न सक्दैन : महासचिव जेन्स

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
युक्रेनलाई नेटो सदस्य बन्नबाट रुसले रोक्न सक्दैन : महासचिव जेन्स

ओस्लो । पश्चिमा सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले युक्रेनलाई नेटो सदस्य बन्नबाट मस्कोले रोक्न नसक्ने बताएका छन् ।

नर्वेको राजधानी ओस्लोमा नेटोको विदेशमन्त्रीस्तरीय बैठक भइरह‌ँदा पत्रकारसँग कुरा गर्दै स्टोल्टेनवर्गले युक्रेन एक दिन नेटोको सदस्य बन्ने कुरामा गठबन्धन मुलुक सहमत रहेको बताए ।

यसै वर्षको जुलाईमा लिथुआनियाको राजधानी भिल्निअसमा नेटोको शिखर सम्मेलन हुँदैछ । सन् २००८ मै नेताहरुले युक्रेन नेटोको सदस्य बन्ने बताए पनि किएभलाई सदस्यता दिने दिशातर्फ कुनै प्रभावकारी कदम भने चालेका छैनन् । रुसस‌ँगको युद्ध जारी रहेकै बेला युक्रेनलाई नेटोको सदस्यता दिने सम्बन्धमा सदस्य राष्ट्रबीच भने केही मतभेद देखिएको छ ।

रुसको छेउछाउमा रहेका पूर्वी यूरोपेली देशहरुले युक्रेनलाई सदस्यता प्राप्तिको नजिकै पुर्‍याउन ठोस कदम चालिनु पर्ने आवाज उठाइरहेका छन् । तर अमेरिका र जर्मनीजस्ता देशहरुले भने यस्तो कुनै पनि कदमले नेटोलाई रुससँग युद्धको थप नजिक पुर्‍याउन सक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

३० सेप्टेम्बर २०२२ मा युक्रेनले औपचारिक रुपमा सदस्यताका लागि नेटोमा आवेदन दिएको थियो । नेटोमा हाल ३१ सदस्य राष्ट्र छन् । फिनल्याण्डले यसै वर्ष नेटोको सदस्यता प्राप्त गरेको हो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि आफूले अपनाउँदै आएका तटस्थताको नीति परित्याग गरेर फिनल्याण्ड नेटोमा आबद्ध भएको हो ।

नेटोको सदस्य बन्ने युक्रेनको चाहनाप्रति रुसले पहिलेदेखि नै आपत्ति जनाउँदै आएको छ । युक्रेन नेटोको सदस्य बन्नुको अर्थ पश्चिमा देशको सेना आफनो सीमासम्म आइपुग्नु रहेको मस्कोको स्पष्ट बुझाइ छ । पश्चिमा देशले युक्रेनलाई नेटोको सदस्य नबनाउने प्रतिबद्धता जनाउन अस्वीकार गरेपछि नै रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.