अन्तरिक्षमा सैन्य गुप्तचरसम्बन्धी पहिलो भू-उपग्रह स्थापना गर्ने उत्तर कोरियाको प्रयास असफल

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
अन्तरिक्षमा सैन्य गुप्तचरसम्बन्धी पहिलो भू-उपग्रह स्थापना गर्ने उत्तर कोरियाको प्रयास असफल

काठमाडौं । सैन्य गुप्तचरी सम्बन्धी पहिलो भू-उपग्रह स्थापना गर्ने उत्तर कोरियाको प्रयास असफल भएको छ ।

बुधबार बिहानै गरिएको भू-उपग्रह प्रक्षेपण रकेटको इन्जन र फ्युल सिस्टममा समस्या आएपछि असफल भएको हो । उक्त रकेट आकाशमा केही माथिसम्म गएपछि विष्फोट भएर समुद्रमा खसेको जनाइएको छ ।

उत्तर कोरियाली सरकारी समाचार माध्यम केसीएनएले ‘चोलिमा वन’ नाम दिइएको उक्त भू-उपग्रहलाई लिएर जाने रकेटको इन्जन र फ्युल सिस्टनमा अस्थिरता आएका कारण प्रक्षेपण असफल भएको जनाएको छ । स्थानीय समय अनुसार आज बिहान करिब साढे ६ बजेतिर उक्त प्रक्षेपण गरिएको थियो । रकेट प्रक्षेपण भएलगत्तै दक्षिण कोरियाको राजधानी सोल र जापानको दक्षिणी ओकिनावा प्रान्तमा चेतावनीको साइरन बजाइएको थियो । तर त्यसको केही समयपछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।

हिंजो (मंगलबार) मात्रै उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले जारी राखेको संयुक्त सैन्य अभ्यासका कारण शत्रुका गतिविधिबारे समयमै जानकारी पाउने उपाय पहिल्याउन प्योंगयांग बाध्य रहेको जनाएको थियो।

बुधबारको प्रक्षेपणअघि अमेरिकी विदेशमन्त्रालयले ब्यालेस्टिक क्षेप्यास्त्र प्रणालीको प्रयोग गरी गरिने कुनै पनि प्रक्षेपणले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले लगाएको प्रतिबन्धको उल्लंघन गर्ने बताएको थियो ।

उत्तर कोरियाले अघिल्ला वर्षहरुमा पाँच पटक भू-उपग्रह प्रक्षेपणको प्रयास गरिसकेको छ । त्यसमध्ये दुई वटा भूउपग्रह पृथ्वीको कक्षमा स्थापना भइसकेका छन् । अन्य तीन प्रयास भने असफल भएका थिए । सैन्य गुप्तचरी सम्बन्धी भू-उपग्रह प्रक्षेपणको यो प्रयास भने पहिलो हो । सफल भू-उपग्रह निर्माणको उसको क्षमता अझै सिद्ध भइनसकेको अन्तरराष्ट्रिय समाचारमाध्यमले टिप्पणी गरेका छन् ।

Enter Kantipur TV HD
Advertisement