सर्बियाली प्रदर्शनकारी र नेटो गठबन्धनको शान्ति बलसँगको झडपमा २५ सैनिक घाइते

जेष्ठ १६, २०८०
सर्बियाली प्रदर्शनकारी र नेटो गठबन्धनको शान्ति बलसँगको झडपमा २५ सैनिक घाइते

प्रिस्टिना । कोसोभोका सर्बियाली प्रदर्शनकारी र नेटो गठबन्धनको शान्ति बलसँग भएको झडपमा २५ सैनिक घाइते भएका छन् ।

उत्तरी कोसोभोका तीनवटा नगर सभागृहको सुरक्षा गर्ने क्रममा उक्त मुठभेड भएको हो । सर्बियाली राष्ट्रपतिले भने सेनालाई उच्च सतर्कता अपनाउन आदेश दिएका छन् । सोमबार कोसोभोको सर्ब बहुसंख्यक क्षेत्रमा अल्बेनी जातिका नगर प्रमुखहरुले कार्यालयमा उपस्थित हुने क्रममा हिंसा भड्किएको हो ।

नेटो गठबन्धनको शान्ति सेना केफोरले घटनाको निन्दा गरेको छ । हिंसा भड्किँदा करिब ५२ सर्ब घाइते भएको अधिकारीहरुले जनाएका छन् । अमेरिका तथा उसको गठबन्धनले तनावको आलोचना गरेको छ । अप्रिलमा भएको स्थानीय निर्वाचन कोसोभोका सर्बहरुले बहिष्कार गरेका र अल्बेनीहरुले स्थानीय सरकारमा स्थान बनाएपछि यो संकट सुरु भएको हो । उक्त निर्वाचनमा ४ प्रतिशतभन्दा तल मत खसेको थियो ।