जापानको नाकानो सहरमा छुरा तथा गोली प्रहार : ४ जनाको मृत्यु

जेष्ठ १२, २०८०
जापानको नाकानो सहरमा छुरा तथा गोली प्रहार : ४ जनाको मृत्यु

टोकियो । जापानको नाकानो सहरमा भएको छुरा तथा गोली प्रहारको घटनामा चार जनाको मृत्यु भएको छ ।

आक्रमणकारी नगरसभा सभामुखको छोरा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । शङ्कास्पद आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आक्रमणकारीले सुरुमा एक जना महिलालाई छुरा प्रहार गरेको र त्यसपछि सिकारी राइफलले दुई जना प्रहरीलाई गोली हानेको हो । घटनामा थप एक जना मारिएको कुरा पछि पुष्टि भएको थियो । चौथो व्यक्ति एक जना वृद्ध महिला भएको र उनी कसरी मारिइन भन्ने कुरा भने स्पष्ट नभएको जनाइएको छ ।

स्थानीय समयअनुसार बिहीबार साँझ करिब साढे ६ बजे प्रहरीले एक जना व्यक्तिले एउटा महिलालाई छुरा हानेको घटनाबारे प्रथम सूचना पाएको जापानी समाचार समिति क्योदोले जनाएको छ ।

आक्रमणकारीले सैनिकले लगाउने जस्तो पोसाक लगाएको र पक्राउ पर्नुअघि आफ्नो बुवाको घरभित्र घण्टौँ लुकेर बसेको प्रहरीले बताएको छ ।

गत जुलाईमा पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भए पनि जापानमा बन्दुक हिंसाको घटना विरलै हुने गरेको छ ।

बन्दुकको लाइसेन्स लिनका लागि त्यहाँ कठिन परीक्षा र मानसिक स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यसपछि शटगन र एयर राइफल मात्र किन्न पाइन्छ ।