युक्रेनविरुद्धको युद्धबाट आफ्ना सैनिक फिर्ता गर्ने रुसी वाग्नर समूहको घोषणा

जेष्ठ ११, २०८०
युक्रेनविरुद्धको युद्धबाट आफ्ना सैनिक फिर्ता गर्ने रुसी वाग्नर समूहको घोषणा

मोस्को । रुसको वाग्नर समूहका संस्थापक येभगेनी प्रिगो-चेनले युक्रेनविरुद्धको लडाइँबाट आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् ।

यसअघि रुसको निजी सैनिक कम्पनी वाग्नर ग्रुपले युक्रेनको पूर्वी सहर बाखमुत नियन्त्रणका लागि भएको युद्धमा आफ्ना करिब २० हजार सैनिक मारिएको बताएको थियो । वाग्नर ग्रुपका संस्थापक प्रिगो-चिनले युक्रेनविरुद्धको महिनौं लामो युद्धमा लड्न करिब ५० हजार कैदीलाई वाग्नर समूहमा भर्ना गरेको बताएका थिए । उनीहरु मध्ये करिब २० प्रतिशत मारिएको उनको भनाइ छ ।

त्यत्तिकै संख्यामा अनुबन्धन गरिएका भाडाका सैनिक पनि सो युद्धमा मारिएको प्रिगो-चिनले बताएका छन् । गत शनिबार वाग्नर समूह र रुसी सेनाले बाखमुत सहर पूर्णतः आफ्नो कब्जामा आएको घोषणा गरेका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि आफ्ना सेनालाई बधाईसमेत दिएका थिए । तर युक्रेनले भने बाखमुत सहर जोगाउन आफ्नो सेना निरन्तर लडिरहेको बताउँदै आएको छ । महिनौंसम्म चलेको लडाइँका कारण बाखमुत सहर भने खण्डहर झैं भएको छ ।