पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा ४ घण्टा केरकार, अन्य ८ मुद्दामा जमानत

जेष्ठ ९, २०८०
पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा ४ घण्टा केरकार, अन्य ८ मुद्दामा जमानत

इस्लामाबाद । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल अकाउन्टबिलिटी ब्युरो (न्याब) ले पूर्वप्रधानमन्त्री इमरान खानसँग अल कादिर ट्रस्टसम्बन्धी भ्रष्टाचार मुद्दामा करिब चार घण्टा बयान लिएको छ ।

न्याबले १९ करोड पाउन्ड अर्थात् ५० अर्ब पाकिस्तानी रुपैयाँको भुक्तानीसँग सम्बन्धित मामिलामा खानसँग चार घण्टा केरकार गरेको जियो टीभीले जनाएको छ । त्यसक्रममा न्याबका अधिकारीहरुले बेलायतको नेसनल क्राइम एजेन्सी (एनसीए) ले फिर्ता गरेको १९ करोड पाउन्ड रकम फुकुवा गर्नेसम्बन्धी तत्कालीन मन्त्रिपरिषद्को निर्णय र यस सम्बन्धमा उक्त एजेन्सीसँग भएका पत्राचारबारे प्रश्न गरेका थिए । साथै उनीहरुले खान संस्थापक अध्यक्ष रहेको अल कादिर युनिभर्सिटी प्रोजेक्ट ट्रस्ट र उसले प्राप्त गरेका अनुदान र चन्दादाताबारे खुलाउन भनेका थिए ।

यही मामिलामा न्याबले पाकिस्तान उच्च अदालत परिसरबाटै खानलाई यही मे ९ मा गिरफ्तार गरेको थियो । पक्राउको विरोधमा भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा कम्तिमा १० जना मारिएका थिए भने पछि सर्वोच्चको आदेशले खान रिहा भएका थिए ।

न्याबसमक्ष बयान दिनुअघि खान राजधानी इस्लामबादस्थित एउटा प्रतिआतंकवाद अदालतमा उपस्थित भएका थिए । अदालतले गत मार्चमा अदालत परिसरमा भएको हिंसासम्बन्धी आठवटा मुद्दामा खानलाई जुन ८ सम्मका लागि जमानत दिएको छ । आजै इस्लामाबादस्थित नेसनल अकाउन्टबिलिटी अदालतले खानकी श्रीमती बुसरा बिबीलाई पनि अल कादिर ट्रस्टसम्बन्धी मुद्दामा मे ३१ सम्मका लागि सुरक्षात्मक जमानत दिएको छ ।

गत वर्षको अप्रिलमा संसद्‌ले महाभियोग लगाएर पदच्यूत गरेयता खानविरुद्ध करिब १५० वटा मुद्दा चलाइएका छन् ।