कश्मीरमा आयोजित जी–ट्वान्टीको पर्यटन बैठकमा चीन सहभागी नहुने, पाकिस्तानको पनि आपत्ति

जेष्ठ ८, २०८० |कान्तिपुर टीभी संवाददाता
कश्मीरमा आयोजित जी–ट्वान्टीको पर्यटन बैठकमा चीन सहभागी नहुने, पाकिस्तानको पनि आपत्ति

कश्मीर । भारतले कडा सुरक्षा र चीनको विरोधका बीच कश्मीरमा जी–ट्वान्टीको पर्यटन बैठक गर्दै छ । भारत विश्वका २० धनी राष्ट्रहरूको समूह जी–ट्वान्टीको वर्तमान अध्यक्ष हो ।

तीन दिनसम्म चल्ने जी–ट्वान्टी समूह अन्तर्गतको पर्यटन कार्यदलको बैठक कश्मीरको गृष्मकालीन राजधानी श्रीनगरमा आयोजना हुँदै छ । जम्मु–कश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता सन् २०१९ मा खारेज गरेयता भारतले यस क्षेत्रमा आयोजना गर्न लागेको यो नै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । 

जी–ट्वान्टी देशका ६० भन्दा बढी प्रतिनिधि यस बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ । विवादास्पद क्षेत्रमा आयोजना गरिएको भन्दै चीनले यस बैठकमा सहभागिता नजनाउने बताइसकेको छ । जी–ट्वान्टीको सदस्य नभए पनि पाकिस्तानले गत अप्रिलमै गैरजिम्मेवारीपूर्ण कदम भन्दै आसन्न बैठकप्रति आपत्ति जनाइसकेको छ ।  

भारत–पाकिस्तान विभाजनको समयदेखि नै कश्मीर दुवै देशबीच वैमनश्यताको मूल कारणका रूपमा रहँदै आएको छ । दुवै देशले समग्र कश्मीरमाथि आ–आफ्नो स्वामित्व दाबी गरे पनि दुवै देशले यसको केही भूभागमा नियन्त्रण राख्दै आएका छन् । कश्मीरको मुद्दालाई लिएर परमाणु हतियार सम्पन्न यी दुई देशबीच दुई ठूला र अन्य स–साना युद्ध भैसकेका छन् । 

भारतले भने जम्मु–कश्मीर र लद्दाख देशको अखण्ड भूभाग भएकाले यहाँ कुनै किसिमको अन्तर्राष्ट्रिय बैठक गर्नु स्वाभाविक रहेको बताउँदै आएको छ । विशेष राज्यको दर्जा खोसेसँगै‌ सन् २०१९मा भारतले मुस्लिम बाहुल्य जम्मु–कश्मीर राज्यलाई जम्मु कश्मीर र लद्दाख गरी दुई केन्द्र शासित राज्यमा विभाजित गरेको थियो । लद्दाख चीन र भारतबीचको सीमा रेखा–लाइन अफ एक्चुअल कन्ट्रोलमा पर्ने एक विवादास्पद क्षेत्र हो । 

दुवै देशको यसका केही भूभाग आफ्नो भएको दाबी गर्दै आएका छन् । यस्तै टर्की र साउदी अरब पनि बैठकमा सहभागी नहुने भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.