युक्रेनलाई समर्थन जारी राख्‍ने जी-सेभेन राष्ट्रहरूको प्रतिबद्धता

जेष्ठ ७, २०८० |कान्तिपुर टीभी संवाददाता
युक्रेनलाई समर्थन जारी राख्‍ने जी-सेभेन राष्ट्रहरूको प्रतिबद्धता

टोकियो । विश्वका ७ धनाढ्य प्रजातान्त्रिक देशहरुको समूह जी-सेभेनका नेताहरुले युक्रेनलाई अविचलित रुपमा समर्थन जारी राख्ने दृढता व्यक्त गरेका छन् ।

जापानको हिरोसिमामा भएको जी-सेभेन शिखर सम्मेलनको अन्तिम दिन आइतबार नेताहरुले युक्रेनप्रतिको समर्थनबाट पछि नहट्ने प्रतिबद्धता जनाए । एक दिनअघि मात्रै युक्रेनको बाखमुत सहर पूर्णरुपमा आफनो कब्जामा आएको दाबी गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि जी-सेभेनका नेताहरुको यो प्रतिबद्धता चेतावनीका रुपमा आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले टिप्पणी गरेका छन् ।

शिखर सम्मेलन जारी रहँदा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की हिरोसिमा पुगेपछि बैठक नै तरंगित भएको थियो । उनी आइतबार सम्मेलनमा सहभागी बनेका थिए । सम्मेलनको अन्तिम दिन अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बख्तरबन्द गाडी र तोपसहित थप साढे सैतिस करोड डलरको सैन्य सहायता दिने घोषणा गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अमेरिकाले युक्रेनलाई दिन लागेको यो ३८औं सैन्य सहायता हो । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी पाइलटलाई ‘एफ-सिक्स्टीन’ युद्धक विमान सञ्चालनको संयुक्त तालिममा सहभागी गराउने प्रतिबद्धतासमेत जनाएका छन् । यद्यपि उनले युक्रेनलाई लडाकु विमान आपूर्ति गर्ने प्रतिबद्धता भने जनाएका छैनन् ।

जी-सेभेनका नेताहरुले जेलेन्स्कीलाई शिखर सम्मेलनमा निम्त्याएर रुसलाई एउटा कठोर सन्देश दिँदै गर्दा अर्को प्रतिद्वन्द्वी राष्ट्र चीन पनि उनीहरुको सोचमा रहेको बीबीसीले टिप्पणी गरेको छ ।

शिखर सम्मेलनको अन्तिम दिन सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ऋषि सुनकले वैश्विक सुरक्षा र समुन्नतिको सन्दर्भमा चीन यो युगकै सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

जी-सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स जर्मनी, इटली र जापान सदस्य रहेका छन् भने यसपटकको शिखर सम्मेलनमा भारत लगायत अन्य आठ देशलाई पनि अतिथीका रुपमा आमन्त्रण गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.