१५ वर्षदेखि पक्राउ गर्न खोजिएका भारतका माओवादी नेता गिरफ्तार

जेष्ठ ७, २०८० |कान्तिपुर टीभी संवाददाता
१५ वर्षदेखि पक्राउ गर्न खोजिएका भारतका माओवादी नेता गिरफ्तार

नयाँदिल्ली । भारतका एक जना सर्वाधिक खोजी गरिएका माओवादी नेता दिनेश गोपलाई नेपालबाट गिरफ्तार गरिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन् ।

गोपमाथि ३० लाख भारु इनाम राखिएको थियो । दिनेश गोप, भारतको झारखण्ड राज्यमा विगत थुप्रै वर्षदेखि सशस्त्र गतिविधि संचालन गर्दै आएको प्रतिबन्धित उग्रवादी संगठन-पिपुल्स लिबरेसन फ्रन्ट अफ इण्डिया पीएलएफआईका प्रमुख भएको बताइएको छ । उनीमाथि झारखण्ड सरकारले २५ लाख र आतंकवाद विरोधी अनुसन्धान निकाय- नेसनल इन्भेस्टिगेसन एजेन्सी -एनआईएले ५ लाख इनाम तोकेका थिए ।

झारखण्ड प्रहरी र एनआईएको संयुक्त टोलीले उनलाई नेपालमा गिरफ्तार गरेको र दिल्ली पुर्‍याउने तयारी भइरहेको भारतीय संचारमाध्यमले दाबी गरेका हुन् । दिनेश गोपलाई झारखण्ड प्रहरी र केन्द्रीय प्रहरी बल सीआरपीएफले विगत १५ वर्षदेखि पक्राउ गर्न खोजिरहेका थिए ।

दिनेश गोप नेपालमा पंजाबी सरदारको भेषमा लुकेर बस्दै आएको भनिए पनि उनलाई नेपालको कुन स्थानबाट पक्राउ गरिएको हो भन्ने कुरा समाचारमा उल्लेख गरिएको छैन । उनीविरुद्ध एक सयभन्दा बढी आपराधिक मुद्दा दर्ता रहेको जनाइएकोछ ।

गोपको पक्राउको विषयमा नेपाल प्रहरीले भने कुनै जानकारी गराएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.