रुसमाथिको प्रतिबन्धमा थप कडाइ गर्न जी सेभेन मुलुक सहमत

जेष्ठ ५, २०८०
रुसमाथिको प्रतिबन्धमा थप कडाइ गर्न जी सेभेन मुलुक सहमत

टोकियो । विश्वका सात धनाढ्य प्रजातान्त्रिक मुलुकहरुको समूह-जी सेभेनका नेताहरुले युक्रेनबाट तत्काल र विनाशर्त सेना तथा सैन्यसामग्री फिर्ता गर्न रुससँग माग गरेका छन् ।

जी सेभेन शिखर सम्मेलनमा सहभागी हुन जापानको हिरोसिमा पुगेका नेताहरुले युक्रेनका लागि आफूहरुको समर्थन जारी रहने उल्लेख गर्दै युक्रेनविरुद्ध रुसको गैरकानुनी र गैरन्यायिक हस्तक्षेपविरुद्ध एकजुट रहेको बताएका छन् । आज आयोजित बैठकमा उनीहरुले रुसविरुद्धको प्रतिबन्धमा कडाई गर्ने र आर्थिक सहयोग जारी राख्ने सहमति पनि गरेका छन् ।

जी सेभेनमा जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा र इटली सदस्य छन् । जी सेभेनको सदस्य नभए पनि यूरोपेली संघले आफनो प्रतिनिधि पठाउने गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की पनि सहभागी हुने शिखर सम्मेलन तीन दिनसम्म चल्नेछ । युक्रेन यु्द्ध सम्मेलनको प्रमुख एजेण्डा रहेको छ ।

यस्तै, अमेरिकाले रुसमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्धलाई थप कडा बनाउने घोषणा गर्ने अपेक्षा गरिएको छ । बेलायतले पनि रुसबाट आयात हुने हिरामा प्रतिबन्ध लगाउने जनाइसकेको छ । चीनसँगको बढ्दो तनावकाबीच जी सेभेनका राष्ट्रहरुले स्वतन्त्र र खुला हिन्द प्रशान्त क्षेत्र सुनिश्चित गर्न कार्य गर्ने बीबीसीले उल्लेख गरेको छ ।

जलवायु परिवर्तन, उर्जा, खाद्यान्न सुरक्षा, स्वास्थ्य र परमाणु निशस्त्रीकरण शिखर सम्मेलनका अन्य एजेण्डा हुनेछन् । सम्मेलनमा हाल जी ट्वेन्टीको अध्यक्ष रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनमा अतिथिका रुपमा सहभागिता जनाउँदैछन् । यसैबीच, जी सेभेनको भेला र आणविक युद्धको विरोध गर्दै सम्मेलन स्थलबाहिर प्रदर्शन भएको छ ।