संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्षता रुसलाई, युक्रेनद्वारा कडा आलोचना

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्षता रुसलाई, युक्रेनद्वारा कडा आलोचना

जेनेभा । एक वर्षभन्दा लामो समयदेखि युक्रेनमा आक्रमण जारी राखेको रुस, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को अध्यक्ष बनेको छ । सदस्य मुलुकहरू एक-एक महिनामा अध्यक्ष बन्ने प्रावधानअनुसार रुसको पालो आएको हो ।

युक्रेनी उच्च अधिकारीहरूले भने यसको कडा आलोचना गरेका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलिकले यो कार्य अन्तर्राष्ट्रिय कानुनकै बलात्कार भएको बताएका छन् । 

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले पनि सुरक्षा परिषद्मा रुसी अध्यक्षतालाई अप्रिल फूलमा अहिलेसम्मकै खराब जोक भनेका छन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी युद्धलाई रोक्न नसकेको भन्दै सुरक्षा परिषद् नै विघटन गर्नुपर्ने बताएका थिए ।

रुसको अध्यक्षता रोक्न युक्रेनले प्रयास गरे पनि सफल हुन सकेको थिएन । अमेरिकाले  परिषद्को बडापत्रले आफ्नो हात बाँधेको भन्दै स्थायी सदस्य मुलुकलाई अध्यक्षता ग्रहण गर्नबाट रोक्न नसकिने जनाएको थियो । गत वर्ष सुरक्षा परिषद्को अध्यक्ष हुँदा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हालै अन्तर्राष्ट्रिय फौजदारी अदालत-आइसीसीले युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेनजियाले हातहतियार नियन्त्रणलगायतका विषयमा बहस गर्ने बताएका छन् । उनले नयाँ विश्व व्यवस्थाबारे छलफल गर्ने र विद्यमान एक ध्रुवीय व्यवस्थालाई बदल्ने उल्लेख गरेका छन् ।  

विश्वमा शान्ति र सुरक्षा कायम राख्ने मुख्य उद्देश्य रहेको सुरक्षा परिषद्मा रुस, अमेरिका, बेलायत, फ्रान्स र चीन गरी ५ स्थायी सदस्य मुलुक छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.