कराँचीमा भएको भाग दौडबाट मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
कराँचीमा भएको भाग दौडबाट मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

कराँची । पाकिस्तानको दक्षिणी सहर कराँचीमा रमजानका अवसरमा खाद्यान्न बाँड्ने क्रममा भएको भाग दौडमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । मृतक सबै महिला तथा बालबालिका हुन् ।

कराँचीस्थित एउटा कारखानाले आयोजना गरेको खाद्यान्न बाँड्ने कार्यक्रममा भाग दौड भएको थियो । कराँचीका प्रहरी अधिकारी मुगिस हास्मीका अनुसार सो कारखानाले प्रहरीलाई आफ्नो कार्यक्रमका बारेमा पहिले नै जानकारी गराएको थिएन । 

एक प्रत्यक्षदर्शीका अनुसार उक्त कारखाना अगाडि हिजो बिहानदेखि नै अत्यधिक भीड जम्मा भएको थियो । भीड बढ्दै जाँदा हजारौँको संख्यामा उपस्थित नागरिकले एक अर्कालाई घचेट्दा च्यापिएर हिजो मात्रै ११ जनाको ज्यान गएको हो । 

रमजान सुरु भएयता पाकिस्तानका विभिन्न स्थानमा खाद्यान्न बाँड्ने क्रममा भएको भीडमा किचिएर २१ जनाको मृत्यु भएको छ । 

पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारीले प्रहरी अधिकारीहरूलाई घटनाको कारण र विवरण बुझाउन आदेश दिएका छन् । 

पाकिस्तानको आर्थिक स्थिति अहिले इतिहासमा नै सबैभन्दा नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.