देशव्यापी हडतालका कारण जर्मनीमा सार्वजनिक यातायात सञ्जाल ठप्प

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
देशव्यापी हडतालका कारण जर्मनीमा सार्वजनिक यातायात सञ्जाल ठप्प

बर्लिन । ज्याला वृद्धिको माग गर्दै दुई ठूला मजदुर सङ्गठनले आह्वान गरेको २४ घण्टे देशव्यापी हडतालका कारण जर्मनीमा सार्वजनिक यातायात सञ्जाल ठप्प भएको छ ।

देशका विमानस्थल, बन्दरगाह, बस तथा रेल स्टेसनहरू सोमबार बिहानैदेखि ठप्प रहेको रोयटर्सले उल्लेख गरेको छ । त्यहाँ कार्यरत यातायात मजदुर र कर्मचारीहरू हिजो मध्यरात १२ बजेदेखि २४ घण्टाका लागि काम बहिष्कार गर्दै हडतालमा उत्रिएका हुन् । हडतालका कारण लाखौँ यात्रु तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन् । 

दुई ठूला विमानस्थलहरू म्युनिख र फ्रयाङकफर्ट विमानस्थलले सबै उडान रद्द गरेका छन् भने लामो दुरीमा चल्ने रेल सेवा रद्द गरिएको छ । बढ्दो मूल्यवृद्धिका कारण जीवनयापन गर्न गाह्रो भएको भन्दै मजदुर  युनियनहरू भेर्दी र इभीजीले हडताल आह्वान गरेका हुन् । 

रुस–युक्रेन युद्ध तथा कोरोना महामारीको प्रभावका कारण उपभोग्य वस्तुको मूल्य निकै बढेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष ९ दशमलव तीन प्रतिशतले मूल्य वृद्धि भएको रोयटर्सले उल्लेख गरेको छ ।

अन्य सार्वजनिक सेवा क्षेत्रमा केही समयअघि देखि स-साना हडताल हुँदै आएकोमा आजको हडताल दशकौँ यताको सबैभन्दा ठूलो भएको जनाइएको छ । भेर्दी युनियनले सार्वजनिक यातायात र विमानस्थल लगायतका क्षेत्र गरी करिब २५ लाख मजदुरको प्रतिनिधित्व गर्छ भने इभीजीले रेल र बस सेवा गरी दुई लाख ३० हजार कामदारको प्रतिनिधित्व गर्दछ ।

भेर्दीले मजदुर र कर्मचारीको ज्याला साढे दश प्रतिशतले वृद्धि गरिनु पर्ने माग गरिरहेको छ भने इभीजीले १२ प्रतिशत ज्याला वृद्धिको माग गरेको छ । हुलाक सेवामा काम गर्ने कर्मचारीले यस अघि गरेको हडतालपछि उनीहरूको ज्याला यही मार्चको सुरुमा साढे ११ प्रतिशतले वृद्धि भइसकेको छ ।

जर्मनी युरोपको सबैभन्दा बलियो अर्थतन्त्र भएको देश हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement